Logo

मुख्य समाचार

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द



रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन गरेको भाषा कक्षा बन्द भएको छ ।

बिगत एक महिनादेखि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को ईभा खाजाघर र डाबरी जाने बाटोमा तथा वडा नम्बर १०को बालचनपुर स्थित तेली समाज धर्मशाला चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको थियो ।

 पर्यटक भिसामा आएका चिनियाँ नागरिकले यहाका बालबालिकालाई समुहगत रूपमा भाषा सिकाउदै आएका थिए । उनीहरुले भाषा कक्षा सञ्चालन गर्दा मोबाईलबाट भिडियो समेत बनाउने गरेको पाइएको थियो । चिनियाँ नागरिकले गरेको गतिविधि र कार्य शंकास्पद लागेपछि अभिभावकले प्रहरीमा समेत खबर गरेका हुन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले अनुमति बिना भाषा कक्षा सञ्चालन गर्न नपाउने बताए ।

यस विषयमा सोधपुछका लागि चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । अहिले चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको स्थनमा बन्द गराइएको उनले बताए ।

चिनियाँ नागरिकले भाषा कक्षामा सहभागी भएका बालबालिकालाई दैनिक रु ५० देखि सय सम्म दिने गरेको पाइएको थियो । बालबालिकालाई आफ्नो कक्षामा आकर्षण गर्न विभिन्न उपहार समेत दिने गरेको पाइएको स्थानीय जयराम चौधरीले बताए । उनका अनुसार केही अभिभावकलाई समेत उनीहरुले उपहार सामग्री दिएका छन ।

तर चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले अनुमति नलिएर भाषा कक्षा सञ्चालन भएकोमा  आपत्ति जनाएका छन । पर्यटक भिसामा आएका उनीहरुलाई  पढाउने अनुमति नभएको उनको भनाइ छ  । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएको जनाएको छ  ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ४ : ४५ बजे