Logo

मुख्य समाचार

नेपाल-भारत इनर्जी समिट: ‘लगानी सुरक्षा र प्रतिफल ग्यारेन्टी छ’ – कार्की



नयाँ दिल्ली । नेपाल र भारत बीचको ऊर्जा सहकार्यलाई प्रगाढ बनाउन बुधवार नयाँ दिल्लीमा आयोजित ‘नेपाल-भारत इनर्जी समिट’ मा इप्पान (स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल) का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। 

समिटमा कार्कीले नेपाल सरकारको आगामी २८,५०० मेगावाट विद्युत उत्पादन लक्ष्यको बारेमा चर्चा गर्दै भने, “सरकारले हालै २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने महत्वकांक्षी लक्ष्य राखेको छ। यसका लागि ४६.५ अर्ब डलरको लगानी आवश्यक छ र लगानीकर्ताका लागि ठूलो अवसर छ।” उनले नेपालमा विद्युत उत्पादन मात्र नभई, परामर्श, मेसिनरी आपूर्ति र अन्य व्यवसायमा पनि लगानीको अवसर रहेको बताए।

नेपालको निजी क्षेत्रले २०५७ देखि विद्युत उत्पादन सुरु गर्दै ३,५०० मेगावाट जडित क्षमता पुर्‍याइसकेको र यसको ८० प्रतिशत (२,८०० मेगावाट) हिस्सा ओगटेको जानकारी कार्कीले दिए। उनले १० वर्ष भित्र नेपाल र भारत बीचको विद्युत आदानप्रदान क्षमता १०,००० मेगावाट पुर्‍याउने दीर्घकालीन सम्झौतामा हस्ताक्षर भइसकेको बताउँदै भने, “भारतीय कम्पनीको लगानीमा नेपालमा ५,००० मेगावाट बराबरका आयोजना अघि बढिरहेको छ र अझै धेरै परियोजनाहरुका लागि भारतीय लगानी पर्खिरहेका छन्।”

सौर्य ऊर्जा क्षेत्रको सम्भावनाबारे पनि उनले जानकारी दिँदै नेपालमा ४.३२ गिगावाटको सौर्य ऊर्जा उत्पादन क्षमता रहेको उल्लेख गरे। “सौर्य ऊर्जा क्षेत्रमा पनि नेपाल भारतीय लगानीकर्ताहरूसँग साझेदारी गर्न इच्छुक छ,” उनले भने।

समिटमा इप्पानका उपाध्यक्ष आनन्द चौधरीले नेपाली विद्युत उत्पादनको वर्तमान र भविष्यको अवस्थाबारे जानकारी दिँदै भने, “नेपालमा ३,५०० मेगावाट विद्युत उत्पादन भइरहेको छ र ४,००० मेगावाट बराबरका आयोजनाहरु निर्माणाधीन छन्।” उनले करिब २०,००० मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको उल्लेख गर्दै भारतीय लगानीकर्ताहरुलाई आकर्षक अवसर छनोट गर्न आग्रह गरे।

नेपाल सरकारको ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतले सरकारको २८,५०० मेगावाट विद्युत उत्पादन लक्ष्य पुरा गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै, “नेपालमा लगानीको सुरक्षित वातावरण छ र विद्युत उत्पादन र आदानप्रदानका लागि पर्याप्त पूर्वाधार तयार छ,” भने।

समिट ‘जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी’ भन्ने नारा सहित सम्पन्न भएको थियो। यो सम्मेलन नेपाली राजदूतावास भारत र IFGE (Indian Federation of Green Energy) को आयोजनामा भएको हो।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : २९ बजे