Logo

मुख्य समाचार

आईएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुलको शुभारम्भ, १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य



काठमाडौँ । आईएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा सञ्चालनमा आएको काठमाडौँ टेक्निकल स्कुलको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीद्वारा गरिएको छ।

उद्घाटन समारोह काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा भएको थियो। यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ जस्ता तीन दर्जनभन्दा बढी रोजगारमूलक र स्वरोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्नेछ।

आधिकारिक विवरण अनुसार, काठमाडौँ टेक्निकल स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँ टेक्निकल स्कुलको शुभारम्भसँगै प्राविधिक जनशक्ति उत्पादनको क्षेत्रमा आइएमई ग्रुपले महत्वपूर्ण कदम चालेको बताए। उनले यो स्कूलले हजारौँ युवालाई रोजगारी वा स्वरोजगारको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

मन्त्री भण्डारीले समारोहमा सम्बोधन गर्दै सीप विकास, रोजगार र उद्यमशीलता बीचको समन्वयलाई बेरोजगारी र गरिबीको समाधानको मार्ग रहेको बताए। उनले सरकार सीप विकास र प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको कुरा पनि बताए।

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले यस स्कुलको लक्ष्य स्थानीय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी तयार गर्नु रहेको बताए। यस स्कूलले नेपालमा मात्रै होइन, विदेशमा पनि अवसर सिर्जना गर्ने योजना बनाएको छ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरू, निजी क्षेत्रका व्यक्ति, विदेशी कुटनीतिक नियोगका अधिकारीहरू र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : १७ बजे