Logo

समाचार

हार्ने निश्चित भएपछि क्याम्पसमा तालाबन्दी गर्ने होडबाजी चल्यो : धर्म गिरी



काठमाडौं । नेकपा (एमाले)का निकट अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीले विद्यार्थीहरुको बलिदानबाट स्वतन्त्र विद्यार्थी युनियनको जन्म भएको भन्दै समाज परिवर्तनको लागि स्ववियु निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

उनले अन्य संगठनहरुले आफुले जित्ने ठाउँमा स्ववियुको निर्वाचन गर्न खोज्ने आफूले हार्ने ठाउँमा निर्वाचन गर्न नखोज्ने र ताला बोकेर हिड्ने गरेको बताए ।

उनले भने,‘लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन् । हामी अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थीको निर्वाचन हुनुपर्छ भनेर लागेका छौ । बलिदानबाट स्वतन्त्र विद्यार्थी युनियनको जन्म भएको हो । समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको  संस्थाको निर्वाचनमा आज भिन्न संगठनहरु आफुले जित्ने ठाउँमा निर्वाचन गर्न खोज्ने, हार्ने भइयो भने निर्वाचन गर्न नखोज्ने वा ताला बोकेर हिड्ने गरिरहेका छन् । आफ्नो प्यानल मिलाउन नसकेर त्रिचन्द्र क्याम्पस, पद्यमकन्या, शंकरदेव, बुटवल बहुमुखी, पशुपतीलगायतका क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । त्यसैले के भन्न चाहन्छु भने आन्तरिक कुराले विद्यार्थीहरुले आफ्नो नेतृत्व छान्ने प्रकियालाई नरोक्नुहोला । जसरी पनि स्ववियुको निर्वाचन हुनुपर्छ । आज स्ववियुको महत्व झन बढेको छ । रचनात्मक तरिकाले अगाडि बढाउन पर्छ । अवको स्ववियुले नेपाललाई चाहिने जनशक्ति निर्माणका लागि काम गर्नुपर्छ ।’

भोली अर्थात चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संगठनहरुबिच आपसी विवाद उत्पन्न भएपछि गिरीको यस्तो प्रतिक्रिया आएको हो ।

निर्वाचनको पूर्वसन्ध्यामा तालाबन्दी गर्ने प्रतिस्पर्धा नै चलेपछि विद्यार्थी नेताहरुले आरोप प्रत्यारोप लगाइरहेका छन् ।

संगठनभित्रको आन्तरिक विवाद, विद्यार्थी भर्ना प्रक्रियामा असन्तुष्टि, उम्मेदवार मनोनयनमा विवाद जस्ता कारणले विद्यार्थी संगठनहरू तालाबन्दीमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : १८ बजे