हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशमा न्याय मरेको टिप्पणी गरेका हुन् ।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायधीशहरुले खोल्ने आँट नगरेको समेत उनले आरोप लगाए ।
न्यायलयहरुमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताहरु भर्ती भएको उनको बुझाई छ । सांसद सिंहले अवस्था र व्यवस्थाको परिवर्तन आजको आवश्यक भएको जिकिर गरे ।
सांसद् सिंहले प्रदेश संरचनालाई देशले धान्न नसक्ने बताए । संघीय संरचना नै खारेज गर्नुपर्छ भन्ने आफूहरुको मुल्य र मान्यता रहेको उनले जिकिर गरे ।
अवस्था र व्यवस्था परिवर्तन गर्न सबैले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानलाई साथ दिन पनि उनले आग्रह गरे । सांसद सिंहले सबै जात र धर्मलाई संरक्षण गर्नको लागि राजसंस्था बाहेक अर्को विकल्प नभएको समेत बताए ।
सांसद् सिंहले अब पार्टीको नेतृत्व युवा पंक्तिहरुले गर्नुपर्ने बताए । अधिवेशनले किशोर खत्रीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यंसमिति समेत चयन गरेको छ ।
प्रतिक्रिया