Logo

प्रदेश

मन्त्री गुप्ताले पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र उद्घाटन गरे


१६ फाल्गुन २०८१, शुक्रबार  

46
Shares

पर्सा। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र उद्घाटन गर्नुभएको छ। बिहीबार पोखरियामा आयोजित एक भव्य कार्यक्रममा मन्त्री गुप्ताले उक्त सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो।

उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री गुप्ताले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीू नारा पोखरिया नगरपालिकाका जनताले व्यवहारमा महसुस गर्न थालेको बताउनुभयो। उहाँका अनुसार, यस कार्यालयको स्थापना पछि पोखरिया र पर्साका ६ वटा पालिकाका जनताले अब मालपोत र नापीसम्बन्धी सेवाका लागि वीरगञ्ज जानुपर्ने बाध्यता अन्त्य भएको छ।

मन्त्री गुप्ताले विश्वास व्यक्त गर्दै भन्नुभयो, अब पोखरिया र आसपासका ग्रामीण क्षेत्रमा विकासका गतिविधिहरूमा तीव्रता आउनेछन्। साथै, उहाँले ईलाका प्रशासन कार्यालयको सेवा केन्द्र पनि चाँडै सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री गुप्ताले चुनावमा गरेका प्रतिवद्धताहरू पुरा गर्न आफू लगातार प्रयत्नशील रहेको उल्लेख गर्दै, मन्त्री र सांसदको कार्यकालभित्र विभिन्न विकासकार्य सम्पन्न गर्ने आश्वासन दिनुभयो। उहाँले भारत सरकारको सहयोगमा ३५ करोड रुपैयाँको विकास योजना सञ्चालन भएको जानकारी पनि दिनुभयो र नेपाल सरकारको बजेटबाट पोखरियासहित तीनवटा सडक निर्माण कार्यका लागि बजेट बिनियोजन गर्न सफल भएको बताउनुभयो।

अर्कोतर्फ, मन्त्री गुप्ताले चीन सरकारको १४ अर्ब रुपैयाँको विकास कार्यक्रम अन्तर्गत पोखरियालाई ५० करोड रुपैयाँ बराबरको विकास परियोजना प्राप्त हुने कुरा पनि बताएका छन्।

यस अवसरमा, मन्त्री गुप्ताले पोखरिया नगरपालिकाको विकासमा सबै राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उहाँले नेपाली कांग्रेससँग सहकार्य गरी पोखरियाको विकासलाई तीव्रता दिन पोखरिया नगरपालिकाका प्रमुखलाई विशेष आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : ३८ बजे