काठमाडौं – भारतको ओडिसामा स्थित कालिङ्गा ईन्सिटिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले आफूहरुमाथि अपराधिक घटनाहरु भएको र अमानवीय व्यवहार गरिएको बताएका छन्।
उनीहरुले स्थानीय प्रहरी र सुरक्षा गार्डहरुले अकारण हिंसात्मक र अपमानजनक व्यवहार गरेको दाबी गरे। सुरक्षाका कारणले अनुहार ढाकेर शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेका उनीहरुले प्रकृति लम्सालको मृत्युको गहिरो अनुसन्धान गर्न र पीडित विद्यार्थीहरुलाई न्याय दिलाउन माग गरेका छन्।
लम्सालको शंकास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थिति र त्यसका कारण विद्यार्थीहरुमाथि भएको शारीरिक र मानसिक अत्याचारबारे उनीहरुले गुनासो गरेका छन्। एक विद्यार्थीले भने, “पुलिस मात्र होइन, त्यहाँका सुरक्षा गार्डहरुले पनि कुटपिट गरे। उनीहरुले भने, चाँडो आफ्नो देश फर्क, काम गर्न जाओ, खेत खन्न जस्ता कुरा भने।”
त्यसैगरी, उनले प्रकृतिको मृत्युपछि संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको र कुनै छानबिन नगरेको भन्दै आक्रोश प्रकट गरे।
यस घटनाले नेपालीहरूको इज्जत घटाएको र आत्मसम्मानमा ठुलो चोट पुगेको उनीहरुको भनाइ थियो। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पीडित विद्यार्थीहरुलाई भेटेर उनीहरुको समस्याबारे सुनिदिन आग्रह गरे।
पत्रकार सम्मेलनमा भेला भएका अधिकांश विद्यार्थीहरुले अनुहार ढाकेर लम्सालको न्यायको लागि आन्दोलित आवाज उठाएका थिए।
प्रतिक्रिया