Logo

मुख्य समाचार

सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल



काठमाँडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य प्राप्त गर्न सकिने बताए।

अध्यक्ष ढकालले आईटी क्षेत्रलाई विश्वव्यापी बजार भएको, खर्बौं रुपैयाँ बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको थप विकासका लागि नीतिगत र संरचनागत सुधार आवश्यक भएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न कानूनमा सुधारको पक्षमा सरकारसँग निरन्तर बहस र पैरवी गर्दै आएको र त्यसको परिणामस्वरूप हालै नेपाली आईटी क्षेत्रका लागि नेपाल सरकारले गरेको कानून संशोधनको महत्वपूर्ण योगदान भएको उनले बताएका छन्।

अध्यक्ष ढकालले नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।

यस अवसरमा, क्यान इन्फोटेक प्रदर्शनीले नवीनतम प्रविधि, स्टार्टअप, इनोभेसन र स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारलाई डिजिटल नेपाल निर्माणको अभियानमा योगदान पुर्याउने बताइएको छ।

सोही प्रदर्शनीको उद्घाटनका क्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकारको भूमिका अझै सुधार गर्न आवश्यक रहेको बताए। उनले निजी क्षेत्रको योगदानको सराहना गर्दै, आगामी दिनहरूमा सहकार्यका साथ काम गर्न सरकारको योजना रहेको पनि उल्लेख गरे।

मन्त्री गुरुङले आईटीलाई उद्योगको रूपमा विकास गर्ने उद्देश्यले नीतिगत सुधारमा काम भइरहेको बताए।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ३ : २३ बजे