Logo

राजनीति

प्रचण्डको अवसरवादी चरित्रका कारण कांग्रेस–एमाले एक ठाउँमा उभिए : ज्ञवाली



रामेछाप । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी चरित्रको कारण कांग्रेस र एमाले एक ठाउँमा उभिनु परेको बताएका छन् ।

नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार उदघाटन गर्दै ज्ञवालीले प्रचण्डकै कारण कांग्रेस र एमालेको सरकार बनेको बताए ।

‘कांग्रेस सभापतिले एमाले अध्यक्षलाई तपाईँ प्रधानमन्त्री बनिदिनुस् भन्ने अवस्था सिर्जना भयो । कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ एमाले अध्यक्ष केपी ओलीको घरमा गएर दुई वर्षको लागि प्रधानमन्त्री बनिदिनुस् भनेर भनेपछि अध्यक्ष प्रधानमन्त्री बन्नुभएको हो’, उनले भने ।

सत्ता एमालेको लक्ष्य नभएको बताउँदै ज्ञवालीले समाज बदल्ने साधन मात्र भएको बताए । सत्तालाई साध्यको रूपमा बुझ्नु हुँदैन, त्यो साधन मात्र हो’, उनले भने ।

देशको राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि नेकपा एमाले सरकारमा गएको उनले बताए । १० सिट ल्याएका माधव नेपाल समेत प्रधानमन्त्री हुने लाइनमा बसेपछि स्थिर सरकार बनाउन एमाले सरकारमा जानु परेको उनको भनाइ छ ।

ज्ञवालीले एमाले र कांग्रेसको संयुक्त सरकार भएपनि कांग्रेसलाई हेर्ने एमालेको प्रष्ट दृष्टिकोण भएको बताए । निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा एमाले र कांग्रेसका नेताहरूले स्पष्ट रूपमा बताउँदै आएका र यथार्थ पनि यही भएको उनले प्रष्ट पारे ।

२०८४ अघि कांग्रेस र एमाले मिलेर देशका समस्या समाधान गरेर निर्वाचनमा जाने उनले बताए । कांग्रेस एमालेको सरकार देशको परिस्थितिको बाध्यात्मक बाटो भएको उनले प्रष्ट पारे ।

अहिले देशको आर्थिक क्षेत्र निक्कै कमजोर भएको बताउँदै ज्ञवालीले त्यसको सुधारको लागि काम गरिरहेको बताए । धेरै ठुलो काम गर्न नसकिए पनि जनताले अनुभूत गर्नेगरी आर्थिक, सामाजिक क्षेत्र र कानुन निर्माणको क्षेत्रमा केही न केही काम हुने उनले विश्वास दिलाए ।

सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनि विरोधीले भनिरहेका भए पनि अहिलेको सरकार राजनीतिक रूपमा बलियो रहेको उनको भनाइ छ ।  कांग्रेस र एमाले मिलेर अहिले सरका बनाएको बताउँदै यस्तो अवस्थामा पनि विरोधीको आक्रमणको निशाना एमाले र एमाले अध्यक्ष केपी ओली माथि मात्र भएको उनले बताए ।

ज्ञवालीले भूराजनीतिक अवस्था नेपालको लागि केही जटिल बन्दै गएको बताए । दक्षिणको भारतमा पुँजीवादी शासन व्यवस्था र उत्तरको चीनमा समाजवादी शासन व्यवस्था भएकोले दुई देश बिचमा रहेको नेपाललाई सन्तुलन कायम गर्ने कुरा निक्कै जटिल भएको बताए । 

चीन विश्वको एक नम्बरको आर्थिक शक्ति मात्र होइन विज्ञान प्रविधि लगायतको क्षेत्रमा पनि एक नं शक्ति बन्नेगरी अघि बढेको उनले बताए । पुँजीवादी देशहरूले पनि यसलाई स्विकारी सकेका उनको भनाइ छ । अब चीन विश्वको पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो शक्ति बन्ने स्थिति बन्दै गएको उनले बताए ।

अहिले एकले अर्कालाई निषेध गरेर विश्व अघि बढ्न सक्ने अवस्था अब टर्दै गइरहेकोले यसले केही सकारात्मक सन्देश दिएको उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा चुनौतीसँग सम्भावना पनि बढ्दै गएको ज्ञवालीले बताए ।

भारत सधैँ नेपाललाई आफ्नो नियन्त्रणमा राख्न उद्यत रहेको बताउँदै ज्ञवालीले नेपाललाई उसले नेपालको स्वतन्त्रता हार्दिकतापूर्वक स्विकार्न नै नसकेको बताए । चीन नेपालको मित्र राष्ट्र भए पनि चीनले समेत नेपाललाई त्यतिकै सहयोग नगर्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : १३ बजे