काठमाडौं । खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने वडा नं ११ का अध्यक्ष एवं प्रतियोगिता संयोजक अरोजकुमार खड्गीले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ ।
प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता सह–संयोजक नदिमरत्न शाक्यले जानकारी गराए । पुरुष÷महिला सिंगल्स, भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि पुरुष सिंगल्समा प्रतिस्पर्धा हुनेछ । ललितपुर महानगरपालिका वडा ११ का खेलाडी मात्र खेल्न पाउने गरी यु–१६ मिक्स युथ स्पर्धा पनि राखिएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
रात्रीकालीन प्रतियोगितालाई इलाभेन स्टार क्लब, इखाछें स्पोट्र्स र ललितपुर जिल्ला टेबलटेनिस संघले सहयोग गर्ने छन् । स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापन हुने तीनदिने प्रतियोगिताका खेलहरु शंखमूलस्थित इलेभन स्टार क्लबमा हुनेछ ।
इन्जिनियर पुष्पराज शाक्यको गत वर्ष निधन भएको थियो । ललितपुरमै भएको पाँचौं मेयर कप टेबलटेनिसको भेट्रान स्पर्धामा खेल्ने क्रममै हृदयघाटका कारण शाक्यको निधन भएको थियो ।
प्रतिक्रिया