काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय उद्यमीहरुलाई उत्पादनशील क्षेत्रमा लगानी प्रस्ताव गर्न आह्वान गरेका छन्।
उनले भने, ‘अब लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहनेछ, र स्वदेशी पुँजी परिचालनमा महत्त्व दिँदै १० अर्व पुँजीको लगानीसहित कम्पनी स्थापना भएको जानकारी पनि दिएका छन्।
तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालका पर्यटन’, ऊर्जा, सूचना प्रविधि र कृषि उत्पादनका क्षेत्रमा अवसरको कमी नहुने बताएका छन्। उनले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउने र साझेदारी गर्ने नयाँ कम्पनीको निर्माण भइरहेको उल्लेख गर्दै स्थानीय उद्योगीहरुलाई यसबाट फाइदा लिन आग्रह गरे।
महासंघ अध्यक्ष ढकालले नेपाल सरकारको प्रयासमा लगानीमा अवरोध हुने कानुनी सुधार कार्य भइरहेको र यसले उपयुक्त अवसर सृजना गरेको पनि बताए। साथै, पर्यटन क्षेत्रमा आगमन बढिरहेको, रेमिटेन्समार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको, बैंकिङ क्षेत्रमा तरलता र ब्याजदर सन्तुलित भइरहेकाले अहिले लगानीका लागि उपयुक्त समय आएको पनि उनको भनाइ थियो।
भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भएका प्रयासहरुलाई साथ दिने बताउँदै अध्यक्ष ढकालले भानु नगरलाई शुभकामना व्यक्त गरे।
प्रतिक्रिया