Logo

कर्पोरेट

नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला र शेरचनको उम्मेदवारी घोषणा



काठमाडौँ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला र अशोक शेरचनको उम्मेदवारी परेको छ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन कार्यकारी सदस्य छन् ।

आउँदो पुस ३ गते संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ । पछिल्लो १३ वर्षयता संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएका छन् । तर, यसपटक भने दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन हुने सम्भावना बढेको छ।

कुनै एक जना पछि नहट्ने हो भने अध्यक्षका लागि निर्वाचन गर्नुपर्ने हुन्छ । तर, संघका पूर्वअध्यक्ष र अधिकांश सदस्यहरूले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने धारणा राख्दै आएका छन् । कतिपयले सहमतिमा नेतृत्व चयनका लागि पूर्वअध्यक्षहरूले पहल गर्नुपर्ने बताएका छन् ।

अहिले संघका अध्यक्ष, उपाध्यक्ष र तीन जना सदस्य रिक्त हुँदैछ । तर, बिहीबारसम्म अध्यक्षका लागि मात्र दुई जनाको उम्मेदवारी परेको छ । आउँदो सोमबारसम्म उम्मेदवारी दिने म्याद छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट किरणकुमार श्रेष्ठ र नेपाल एसबीआई बैंकबाट दीपककुमार डेको कार्यकाल सकिएकाले सदस्यका ती दुई पद रिक्त छन् । यी पदमा नयाँ व्यवस्था आउनुपर्ने हुन्छ । यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अध्यक्ष सुदेश खालिङको पनि बैंकर्स संघमा एक कार्यकाल पुरा भएको छ । संघको कार्यकारी सदस्यमा लगातार दुई कार्यकाल बस्न पाउने व्यवस्था छ । तर, त्यसका लागि पनि मनोनयन दर्ता भने गर्नुपर्छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ४ : ५४ बजे