Logo

मुख्य समाचार

नेपाल-चीन बिजनेस समिट: विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारको प्रतिवद्धता



काठमाडौं । नेपाल सरकार र निजी क्षेत्रले चिनिया सहित विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघ , चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेसनल ट्रेड  र चीनस्थित नेपाली दुतावासको संयुक्त आयोजनामा नेपाल-चीन बिजनेस समिट सम्पन्न भएको छ। समिटको मुख्य उद्देश्य नेपालमा विदेशी लगानी र व्यापार सहजीकरण बढाउनु थियो।

प्रधानमन्त्री ओलीले समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको र नेपालका विभिन्न क्षेत्र अझै पनि लगानीको लागि आकर्षक रहेको बताएका छन्। उनले नेपालको परम्परागत सम्बन्धलाई आधार मानेर दुई देशको आपसी आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन सहयोग गर्न आग्रह गरेका हुन्। साथै, नेपाल र चीनबीचको व्यापार घाटा चिन्ताको विषय रहेको र नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार विस्तार गर्नको लागि अधिक प्रयास आवश्यक रहेको बताए।

चीनका वाणिज्य उपमन्त्री लिंग जीले नेपाल र चीन बीचको पुरानो सम्बन्ध र बढ्दो आर्थिक गतिविधि को बारेमा बोले। उनले नेपालमा चिनिया लगानीको प्रवृत्तिलाई सकारात्मक र भविष्यमा अझ बढ्ने विश्वास व्यक्त गरे। यसै क्रममा, उनले नेपाललाई चीनको भन्साररहित सुविधाको फाइदा उठाउनका लागि तयारी अवस्थामा रहेको पनि जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन र निर्यात प्रवर्धनमा महासंघले गरेको पहलको सराहना गर्दै सरकारले लगानी सम्बन्धी आठ वटा कानूनी संशोधन गरेको उल्लेख गरे। उनले नेपालको क्रेडिट रेटिंगमा सुधार आएको र दक्षिण एसियामा भारतपछि नेपालको रेटिंग सबैभन्दा राम्रो रहेको जानकारी दिएका छन्।
यो समिटको दोस्रो संस्करण थियो, जसमा १२० जना चिनिया व्यवसायी र ५० नेपाली उद्यमीहरूको सहभागिता रहेको थियो। समिटमा नेपाल र चीनका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा जलविद्युत, पर्यटन, कृषि, र सूचना प्रविधिको क्षेत्रमा सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो।
समिटमा सहभागि सबै पक्षले नेपालमा लगानीको वातावरण सुधार गर्ने र नेपाल-चीन व्यापारिक सम्बन्ध थप प्रगाढ बनाउन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : २१ बजे