काठमाडौं । ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ को सातौं संस्करण शनिबारदेखि काठमाडौँमा आयोजना हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा मंसिर ८ र ९ गते फेस्टिभलको आयोजना गर्न लागेको काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी हुन् ।
उपप्रमुख डंगोलले कार्यक्रममा महिलाहरको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोशिस गरेको भन्दै वुमन्स अफ द वल्र्ड भन्ने वित्तिकै महिला मात्रै जाने होला भन्ने नसोची सबै जनालाई आउँनको लागि अपिल गरिन् ।
उनले भनिन्,‘हामीले कार्यक्रममा महिलाहरुको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोशिस गरेका छौं । यो सबैका लागि हो पनि भन्ने चाहन्छु । ८ र ९ गते यो कार्यक्रम हुँदैछ । नक्साल नारायण चौरमा आउन आउनुहोला । वुमन्स अफ द वल्र्ड भन्ने वित्तिकै महिला महिला मात्रै जाने होला भन्ने पनि लाग्न सक्छ । यो कदापी होइन् । यहाँ सबै जनाको लागि निमन्त्रणा छ ।’
महानगरपालिकाका उपप्रमुख डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह पहिले नै सार्वजनिक गरिसकेका छन् ।
सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । लैङ्गिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य हो ।
दुई दिने फेस्टिभलमा तीन वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ ।
पाँच वटाभन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुती हुनेछन् । कम्तीमा पाँचसय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा एकसयजना भन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया