Logo

खेलकुद

न्युजिल्याण्डका कुगेलेइन सुदूरपश्चिम रोयल्समा अनुबन्धित


१४ कार्तिक २०८१, बुधबार  

69
Shares

काठमाडौं । न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि २० आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए ।

उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । तीव्र गतिको बलिङ गर्ने उनले तल्लो क्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् ।

टि २० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिएका उनले  साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन उनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन् ।

रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हज प्रमुख मेन्टरमा छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा हुन् ।

रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ । रोयल्सले कार्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदूरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ । आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नुहुनेछ । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १२ : ३७ बजे