Logo

विश्व

बेलायतका राजा चार्ल्सले स्विकारे उपनिवेशवाद


९ कार्तिक २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । बेलायतका राजा चार्ल्सले राष्ट्रमण्डल शिखर सम्मेलनमा बोल्दै ब्रिटेनको विगतको उपनिवेशवाद र यसले पुर्याएको पीडालाई स्वीकार गरेका छन् ।

तर, धेरै राष्ट्रका नेताहरूले अपेक्षा गरेको दास प्रथाको लागि वित्तीय क्षतिपूर्ति सम्बन्धी प्रत्यक्ष संवाद भने नगरीकन, विगतका पाठलाई भविष्यका सही निर्णयका लागि मार्गदर्शक बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरे ।

समोआमा भएको राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठक (चोगम) मा पहिलोपटक राजा चार्ल्सले सहभागीता जनाउँदै ५६ राष्ट्रमण्डल राष्ट्रका नेताहरूसँग सम्बोधन गरेका थिए ।

सम्बोधनमा उनले जलवायु संकट, विकास चुनौतीहरू, र महारानी एलिजाबेथलाई सम्झना गर्दै ऐतिहासिक अन्यायका पाटाहरूलाई स्वीकार गर्ने उल्लेख गरे ।

चोगममा सामेल भएका कतिपय अफ्रिकी र क्यारेबियन नेताहरूले ब्रिटेन र अन्य युरोपेली शक्तिहरूले विगतको दास प्रथाको लागि वित्तीय मुआब्जा दिनुपर्ने माग गरे ।

बहामासका प्रधानमन्त्री फिलिप डेभिसले विगतका अत्याचारहरूको सम्बोधनको माग गर्दै भने, “यो समय गम्भीर वार्ताको हो । न्यायको यो संघर्ष अझै समाप्त भएको छैन ।”

विवादको सन्दर्भमा ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले भने वित्तीय मुआब्जाको सट्टा, गैर–वित्तीय क्षतिपूर्तिको सम्भावना खुला रहेको संकेत दिएका छन् । यस अन्तर्गत वित्तीय संस्थाहरूको पुनर्रचना र ऋण राहतको प्रस्ताव पनि सामेल हुन सक्नेछ ।

संगठनका पूर्व महासचिव पेट्रिसिया स्कटल्यान्डले उद्घाटन भाषणमा उपनिवेशवादको इतिहासलाई स्वीकार गर्दै राष्ट्रमण्डलका राष्ट्रहरूले आपसी समानतामा रहेको भनेका थिए ।

सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्सका प्रधानमन्त्री राल्फ गोंसाल्भेसले भने, ब्रिटिश उपनिवेशवादले स्वदेशी समुदाय र अफ्रिकी दासहरूको जीवनमा गहिरो प्रभाव पुर्याएको भन्दै, दास प्रथाको अन्त्यपछि उनीहरूलाई कुनै पनि प्रकारको राहत नदिइएकोमा ध्यानाकर्षण गरे ।

राजा चार्ल्सले आफ्नो सम्बोधनमा राष्ट्रमण्डलका वर्तमान चुनौतीहरू, विशेषगरी जलवायु संकट र विकास समस्याहरूलाई पनि उठाउँदै असमानताहरूले राष्ट्रहरूबीच विभाजन र द्वन्द्व सिर्जना गर्न सक्ने चेतावनी दिए ।

यस शिखर सम्मेलनले ब्रिटेनको विगतको उपनिवेशवाद र दास प्रथाको विरासतलाई न्यायपूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको कुरामा बल दिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १२ : ३५ बजे