Logo

विश्व

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का



एजेन्सी । लेबनानमा इजरायली सेनाले निरन्तर हवाइ हमला गरिरहेको छ । इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको हो ।

आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ ।

शनिवार राती इजरायली सेनाको आक्रमणमा परि कम्तिमा ८४ जना लेबनानी नागरिक मारिएका थिए । आइतबार दिउँसो इजरायली सेनाले बेरुतका १४ तथा अन्य १० गरी २४ नगरमा आक्रमणको चेतावनी दिएको थियो ।

लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ शनिबार ड्रोन हमला भएपछि इजरायली सेना थप आक्रामक बनेको छ

पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक रुपले सहयोग गरिरहेका बैंक तथा वित्तिय संस्थालाई निशाना बनाएको छ । निरन्तरको द्वन्द्वले लेबनानको अर्थतन्त्र ओरालो लागेको छ । व्यापार र स्थानीय कम्पनीहरूले बढ्दो संकटका लागि संघर्ष गरिरहेका छन् ।

युद्धले व्यापार, उद्योग र पर्यटन जस्ता प्रमुख क्षेत्रहरूलाई असर गरेकाले लेबनानको अर्थतन्त्र तलतिर झरेको छ। इजरायली आक्रमण दक्षिणी लेबनानबाट देशको राजधानी र व्यापार केन्द्र बेरुतसहित अन्य शहरहरूमा विस्तार हुँदै गएको छ ।

धेरै व्यावसायीहरु डरले आफ्नो परिवारसहित देश छाडेका थिए, तर धेरैले लेबनानको द्रुत रूपमा परिवर्तन भइरहेको परिस्थितिमा बस्न रुचाएपनि पछिल्लो द्वन्द्वका कारण आजित भएका छन् । (सीसीटिभीप्लस÷एनएनबी)

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : ५२ बजे