Logo

Breaking News 1

जुम्लामा यस वर्षको दसैँमा मात्रै १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार



जुम्ला । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलंगा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए ।  

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै, १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत  १६ हजारमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजारमा किनबेच भइरहेका राँगाभैँसी औसत ३८ हजारमा बिक्री भएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ९ : १८ बजे