Logo

धर्म / संस्कृति

मुस्लिम आयोगमा दशैंको शुभकामना कार्यक्रम, सबै नेपाली एक हुन आब्हान



काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरु फरक समुदायको भएतापनि विभिन्न धर्ममा आस्था रहेका सबै नेपाली एक हुनुपर्ने बताएका छन् ।

सोमबार हिन्दु समुदायलाई दशैंको शुभकामना दिन मुस्लिम आयोगद्धारा आयोजित कार्यक्रममा उनले दशैं, तिहार र छठ जस्तो पर्वमा शुभकामना आदानप्रदानको उद्देश्य नै सबै समुदाय एक हौं भन्ने सन्देश दिनु रहेको बताए ।

उनले भने,‘हाम्रो उद्देश्य भनेकै पहिला नेपाली हो । विभिन्न जातजाति, धर्म अलग भएपनि हामी सबै नेपाली हो । सिङ्गो नेपालीको शान्ति सुरक्षाको लागि  समाजको उत्थान र विकासको लागि आयोगहरु बनेका छन् । त्यसमा एउटा मुस्लिम आयोग पनि हो । दशैं तिहार छठ जस्तो पर्वमा शुभकामना आदानप्रदानको उद्देश्य नै हामी एक एक हौं, एक रहन्छौं र एक रहिरहन्छौं भन्ने हो ।’

उनले नकरात्मक कुराहरु समुदायभित्र नभई केही तत्वहरुमा रहेको भन्दै त्यसलाई समयमा नै नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले आफ्नो समुदायले कुनै समुदाय र व्यक्तिमाथि प्रश्न चिन्ह नगर्ने भन्दै यदी कसैले नेपालको शान्ति सुरक्षामा खलल पुग्ने कार्य गर्छ भने त्यसको उपचार समयमा नै गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘समुदायभित्र केही पनि नकारात्मक कुरा छैन् । नकारात्मक भनेको केही तत्वहरु छन् । तिनीहरुलाई समयमा नै नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउनैपर्छ । कुनै समुदाय र व्यक्तिमाथि प्रश्न चिन्ह गदैनौं । केवल नेपालको शान्ति सुरक्षामा खलल पुग्ने कार्य यदी कसैले गर्छ भने सिङ्गो समुदाय जवाफदेही हुनुपर्छ । त्यसैले यसको समयमा नै उपचार गर्नुपर्छ ।’

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ५४ बजे