Logo

खेलकुद

पल्सर स्पोर्ट्स अवार्डका चार विधाको मनोनयन सार्वजनिक



काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

सोमबार नेपाल खेलकुद पत्रकार मञ्चले एक कार्यक्रमकाबीच वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षको मनोनयन सार्वजनिक गरेको हो ।

विस २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा गरेको प्रदर्शन र नतिजालाई आधार मानेर मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको मनोनयन गरिएको मञ्चले जानकारी दिएको छ ।

वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराँते) र सुवास तामाङ (गल्फ) परेका छन् ।

यस्तै, महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराँते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन् ।

युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) परेका छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) परेका छन् ।

आयोजकका अनुसार मनोनयनमा परेका पाँच जनामध्यबाट अवार्डकै दिन विजेता घोषणा गरिने छ ।

स्पोर्ट्स अवार्ड यही भदौ २८ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना हुँदैछ ।

पिपुल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ ।

यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटरबाइक प्रदान गरिनेछ ।

यस्तै पिपुल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटरबाइक जित्ने छन् भने अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट हयाम्पर प्रदान गरिनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : २६ बजे