Logo

धर्म / संस्कृति

पशुपतिमा तीजको तयारी पूरा



काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थिहरुको लागि सबै तयारी पुरा भएको जानकारी गराएको हो ।

पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए ।

यसैगरी तेस्रो लाम पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको बताइएको छ ।

मेलामा चोरि र लुटपातको घट्नाहरु हुन नदिन कोषले महिला दिदिबहिनिहरुलाई बहुमुल्य गरगहना लगाएर नआउन र सकेसम्म ससाना कलबालिका साथमा लिएर नआउन अनुरोध गरेको छ ।

नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै बिहीबारदेखि सुरक्षा व्यवस्था कडा पारिएको कोषले जनाइको छ

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ ।

सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।

जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  १ : ५१ बजे