Logo

मुख्य समाचार

महानगरपालिकाद्धारा पलेशालाई पाँच लाख रुपैयाँसहित सम्मान



काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

बुधबार काठमाडौं प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै, पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको बताए ।

उनले भने, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सिमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’

पलेशाका मातापिताको योगदानका कुरा गर्दै उनले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गरे ।

त्यस, क्रममा उपप्रमुख सुनिता डंगोलले, पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा व्यक्त गरिन् ।

छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उनले, पलेशाका बुबाआमा, सन्तानको सफलताका लागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गरिन्  ।

त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै उनले भनिन, ‘मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यस अघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सके ।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ४ : २५ बजे