Logo

मुख्य समाचार

सीटीईभीटीको ऐन एकीकृत नगरी नर्सिङ शिक्षाको दुविधा हट्दैन : शिक्षामन्त्री भट्टराई



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पीसीएल नर्सिङ शिक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न ऐन परिमार्जन प्रक्रियामा रहेको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्री भट्टराईले नर्सिङ शिक्षाबारे सांसदहरूको जिज्ञासामा यस्तो जवाफ दिएकी हुन् ।

संसद्‌मा पीसीएल नर्सिङ पढाउने निजी कलेजहरू बन्द भएको र विद्यार्थी पढ्नबाट वञ्चित भएको विषय उठेको थियो । सीटीईभीटीले विद्यालय तहसम्म वा प्रमाणपत्र तहलाई पनि नियमन गर्ने भन्ने ऐनमा प्रष्ट नहुँदा यो समस्या आएको र ऐन एकीकृत गरी यसको निराकरण गरिने उनको भनाइ छ ।

“ऐन स्पष्ट नहुँदा दुविधा आएको हो, सबैभन्दा पहिला सीटीईभीटीको ऐन एकीकृत गर्नु आवश्यक छ, त्यसका लागि विधेयकको मस्यौदा तयार पारिसकिएको छ,” मन्त्री भट्टराईले भनिन् ।

साथै, मेडिकल उच्च शिक्षा तहमा विदेशिनेको संख्या कम गर्न थप तीन अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरिएको पनि उनले बताइन् । उनका अनुसार यो वर्ष राप्ती, पोखरा र डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।

यी तीन अस्पतालमा कलेज सञ्चालन गर्नसके स्नातक तहमा सिट संख्या थपिने मन्त्री भट्टराईले बताइन् । हाल चिकित्सा शिक्षामा स्नातकतर्फ एमबीबीएसमा एक हजार ९२५, बीडीएसमा ५४५, बीएस्सी नर्सिङ एक हजार ७२० र अन्य विविध कार्यक्रममा गरी सात हजार ६०६ तथा स्नातकोत्तरमा एक हजार ७७६ सिट संख्या तोकिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ३ : ४२ बजे