Logo

समाचार

काँग्रेसका ५ सहमहामन्त्री पदको मतगणना: कस्काे कति मत



काठमाण्डाैं: नेपाली काँग्रेसको शुक्रबार जारी आरक्षण कोटातर्फको ५ पदको मतगणना जारी रहेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा खसआर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको १–१ सिटका लागि मतगणना जारी रहेको हो ।

जसअनुसार खस–आर्यतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका किशोरसिंह राठौरले अग्रता लिएका  छन्। १९९५ मतगणना हुँदा राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई २५४ पछि पारेका छन् । राठौरले ११०३ मत पाएका छन् भने चालिसेले ८४९ मत ल्याएका छन्।

यसैगरी मधेसीतर्फको सहमहामन्त्रीमा पनि सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादवले अग्रता लिएका छन् । ९०० मत गणनामा महेन्द्रले ५३० मत पाएका छन् भने शेखर कोइराला समूहका रामकृष्ण यादवले ३९१ मत पाएका छन् ।  महेन्द्रले रामकृष्णलाई १३९ मतले पछि पारेका छन् । अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन् ।  कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए ।

यसैगरी  थारूतर्फको सहमहामन्त्रीमा पनि देउवा पक्षकै उम्मेदवार उमाकान्त चौधरीले अग्रता लिएका छन् । १ हजार मत गणना हुँदा उमाकान्तले ५४२ मत पाएका छन्  । त्यस्तै  तेजुलाल चौधरीले ४४२ मत पाएका छन् । उमाकान्तले एकसय मतको अग्रता लिएका छन् । 

यसैगरी पिछडिएका क्षेत्रतर्फ बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् । पाण्डेले १०६ मत ल्याउँदा  शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले  ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले  ६ मत पाएका छन् ।

यसैगरी मुस्लिमतर्फको सहमहामन्त्रीमा पनि देउवा प्यानलका फरमुल्ला मन्सुरले अग्रता बनाएका छन् । १२५८ मतगणना हुँदा देउवा प्यानलका मन्सुरले शेखर कोइराला समूहका शेख वकिललाई १९४ मतले पछि पारेका हुन्। मन्सुरले ७२३ मत पाएका छन् भने वकिलले ५२९ मत ल्याएका छन्। मतगणना जारी छ । 

यसअघि नै सहमहामन्त्रीका ३ पदको नतिजा आइसकेको छ।  जसमा महिलातर्फत डीना उपाध्याय, जनजातीतर्फ भीष्मराज आङदेम्बे, दलिततर्फ जीवन परियार विजयी भएका छन् । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १२ : ५० बजे