Logo

मुख्य समाचार

तालिबान जबर्जस्ती काबुल छिरेका होइनन्, मैले बोलाएको थिएँ : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद



एजेन्सी : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले हिंसा र लुटपाट रोक्नका लागि आफूले तालिबानलाई राजधानी काबुलमा प्रवेश गर्न भनेको बताएका छन् ।​ हामिद करजईले समाचार एजेन्सी असोसिएटेड प्रेसलाई दिएको साक्षात्कारमा भने, ‘तालिबानका नेताले आफ्ना लडाकू अफगान राजधानीमा प्रवेश नगर्ने आश्वासन दिएका थिए ।’

‘तर अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनी आफ्नो सबै वरिष्ठ अधिकारीसँग अचानक काबुलबाट निस्किए र तालिबानसँग सम्झौता हुन सकेन ।’ यसै वर्ष अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा कब्जा जमाएका थिए र तत्कालीन सरकारलाई सत्ताबाट हटाइदिएको थियो ।

तालिबान लडाकूले एकएक गरी काबुल आसपासका क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो र उनीहरु राजधानी बाहिर आएर बसेका थिए । त्यतिबेला तालिबान लडाकू कुनै पनि बेला राजधानी प्रवेश गर्ने आशंका जताइँदै थियो । त्यतिबेला अशरफ गनीले अचानक अफगानिस्तान छोडिदिए र तालिबानले १५ अगस्टमा काबुलमा पनि कब्जा जमाए ।

तालिबानले त्यतिबेला राजधानीमा प्रवेश गर्ने आफ्नो कुनै उद्देश्य नभएता पनि शहरमा भागदौड र लुटपाटको स्थितिबाट बच्नका लागि आफूहरुले काबुलमा कदम राखेको बताएका थिए ।

हामिद करजईले भने, ‘त्यसैले अफगानिस्तानमा सरकारी ढाँचा र सुरक्षा एजेन्सी पंगु भएको थियो । म आफैंले तालिबानलाई काबुल आउन निम्तो दिएको थिएँ ।’

के थियो वास्तविक योजना ?

हामिद करजईले साक्षात्कारमा भने, ‘म र अब्दुल्लाह अब्दुल्लाह दोहामा तालिबान नेताको सम्पर्कमा थियौं । तालिबान तत्कालीन सरकारसँग राजनीतिक सम्झौताको आधारमा नै काबुलमा प्रवेश गर्ने योजना थियो । ’

उनले भने, ‘तालिबानसँग राजनीतिक सम्झौतामा अन्तिम निर्णय लिनका लागि मेरो र अब्दुल्लाहको १५ अगस्टमा दोहा जाने योजना थियो ।’

करजईका अनुसार अपरान्हदेखि नै राष्ट्रपति गनीले देश छोड्ने अफवाह उड्न लाग्यो ।

उनले गृहमन्त्रीसँग कुरा गर्दा काबुल प्रहरी प्रमुखसहित सबै अधिकारी राजधानीबाट जाने र सत्तामा कोही नहुने भन्ने कुरा थाहा पाए ।

हामिद करजईका अनुसार यदि राष्ट्रपति गनी देशमै बसेको भए तालिबानसँग सम्झौता हुने र एउटा सिस्टम बन्ने सम्भावना हुन्थ्यो ।

करजईले भने, ‘अब अफगानिस्तानमा तालिबानको नियन्त्रण छ । अन्तरराष्ट्रिय समुदायले तालिबानसँग कुराकानी गर्न र मानवीय विध्वंश रोक्न आवश्यक छ ।’

उनले भने, ‘तालिबानलाई कहिलेकाँही गलत तरिकाले पेश गरिन्छ । उदाहरणका लागि अफगानिस्तानमा महिला घरबाट बाहिर निस्कन पाउँदैनन् भनेर गलत हल्ला चलेको छ ।’

करजईका अनुसार उनले तालिबानलाई हालको संकटबाट बाहिर निस्कनका लागि योजनासमेत दिएका छन् ।

उनले भने, ‘महिलाको काम गर्ने अधिकार, महिला र पुरुषको पढ्ने अधिकार र जीवनको हरेक क्षेत्रमा महिलाको सहभागिता यस्ता मामिला हुन् जसमाथि सम्झौता गर्न सकिँदैन र यसको सुरक्षा गर्नुपर्छ ।’

गनी र तालिबानको स्थितिः

काबुल छोडेपछि अशरफ गनीले देशमा युद्ध र रक्तपातपूर्ण स्थिति रोक्नका लागि आफूले राजधानीबाट जाने निर्णय गरेको बताएका थिए ।

तालिबानले उनलाई मार्न चाहेको भनेर उनले गोप्य सूचना पाएको पनि बताइन्छ ।

यस्तै, अर्कोतर्फ तालिबानले राजधानी प्रवेश गर्नुुअघि उनका लडाकू राजधानी बाहिर नै हुने र सत्ता हस्तान्तरणका लागि कुराकानी हुने बताएको थियो ।

राजधानीमाथि कब्जापछि तालिबानले आफ्नो अन्तरिम सरकारको घोषणा गर्यो । उनीहरुले अफगानिस्तानको झण्डाको साटो आफ्नो सेतो झण्डा प्रयोग गरिरहेका छन् ।

अफगानिस्तानमा भएका विश्लेषक, राजनेता र अन्तरराष्ट्रिय समुदायले तालिबानको सरकार एक गठबन्धन सरकार नभएको र यसमा महिलाको पनि सहभागिता नभएको बताइरहेका छन् ।

तालिबान अन्तरराष्ट्रिय समुदायबाट मान्यता पाउने कोसिसमा लागेको छ तर हालसम्म कसैले पनि यसलाई मान्यता दिएको छैन ।

बीबीसी

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १० : ५१ बजे