Logo

मुख्य समाचार

आज पुस १ गते, राजा महेन्द्रले ‘कू’ गरेको दिन



काठमाडौं । पुस १ गते नेपाली जनताले कालो दिनको रुपमा ठान्ने गरेका छन् । २०१७ साल पुस १ गते प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा राजा महेन्द्रले अपदस्थ गरेका थिए ।

पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए ।

कोइराला नेतृत्वको १८ महिने सरकारलाई अपदस्थ गरि दलहरुमाथि प्रतिबन्ध लगाएर निर्दलिय पञ्चायती व्यवस्था सुरु भएको थियो । 

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको थापाथलीस्थित सम्मेलनमा सहभागी भएका बेला कोइराला लगायतलाई गिरफ्तार गरिएको थियो ।

प्रधानमन्त्री बिपीले सम्मेलनको उद्घाटन गरी सम्बोधन गर्ने पालो थियो, ठीक त्यही बेला सैनिक उच्च अधिकारी समरराज कुँवर र सुरेन्द्रबहादुर शाह नेतृत्वको सेनाको टोलीले बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्रलगायतलाई गिरफ्तार गरेको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चस्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ४७ बजे