Logo

मुख्य समाचार

बंगलादेशमा बाँकी नेपाली विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीको सुरक्षामा लाग्न नेपाली ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् । त्यहाँ रहेका नेपालीलाई पर्नेसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न निर्देशन दिएकी हुन् ।

मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएकी थिइन् । सोपछि त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् ।

बंगलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली सुरक्षित रहेको बंलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराए ।

मन्त्री डा. राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिइन् ।

बंगलादेशमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आज सूचना जारी गरेको छ ।

सो सूचनामा बंगलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४०० विद्यार्थी रहेका र उनीहरू सुरक्षित रहेका जानकारी पनि दिइएको छ ।

सो सूचनामा नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ५८ बजे