गलकोट । जिल्लामा साउनयता २६ जनामा डेंगी पुष्टि भएको छ । डेंगी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।
बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेंगी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
साउनमा जिल्लाभर २६ जनामा डेंगी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो ।
“गलकोट डेंगी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ”, जनस्वास्थ्य निरीक्षक घिमिरेले भने, “अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेंगी र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेंगी र स्क्रब टाइफस पुष्टि भइरहेको छ ।”
गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेंगी पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए । उनका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । अहिले अधिकांशले घरमा उपचार गराइराखेको भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी बताए ।
प्रतिक्रिया