Logo

मुख्य समाचार

माडी फाँटमा अब बाह्रै महिना सिंचाइ



रामेछाप । रामेछापकै सबैभन्दा धेरै धान खेती हुने फाँट माडी फाँटमा अब बाह्रै महिना सिँचाइको व्यवस्था भएको छ ।

खाँडादेवी गाउँपालिका–४ पकरबासको माडी फाँटलाई सिँचाइ गर्ने भटौली खोलाको पानी हिउँदमा सुक्न लागेपछि केही वर्षदेखि हिउँदमा माडी फाँट सुक्ने गरेको थियो । हिउँदमा लगाइएको मकै बाली सुक्नुको साथै धान रोप्ने बेलामा समेत स्थानीय किसानले खोलाको भल पर्खनु पर्ने बाध्यता थियो ।

जिल्लाकै सबैभन्दा ठुलो र उर्वर फाँटमा सुक्खा लागेपछि लिफ्ट र डिप बोरिङ सञ्चालन गरी बाह्रै महिना सिँचाइको व्यवस्था मिलाइएको छ । कूल ३ सय ७२ घर धुरीको ४२ सय रोपनी खेत भएको माडी फाँटमा अहिले तामाकोसीबाट दुईवटा लिफ्ट तथा भटौली खोलाको एउटा लिफ्टबाट पानी तानिएको छ ।

त्यस्तै, माडी फाँटमा एउटा डिप बोरिङ पनि खनिएको छ । लिफ्ट र बोरिङबाट माडी फाँटको ८) प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्ने खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल बताउँछन् ।

माडी फाँटमा लिफ्ट सिँचाइको लागि स्थानीय सामुदायिक विकास समाज नामक गैरसरकारी संस्थाले निर्माण गरिदिए पनि बिचमा बिग्रिएको ५ सय ९२ मिटर लामो लिफ्ट सिँचाई आयोजना प्रदेश सरकारको सहयोगमा पुनः मर्मत गरेर सञ्चालन गरिएको छ ।

तामाकोसीको पानी माडी मुहानको कुलोमा झारेर सिँचाइको व्यवस्था मिलाइएको छ । त्यस्तै तामाकोसीबाट तानिएको अर्को तामाकोसी लिफ्ट सिँचाइको पानी पनि खेतको सिरानमा र्पुयाएर कुलोमा झरी सिँचाइको व्यवस्था मिलाइएको छ ।

माडी मुहानको नजिकै भटौली खोलामा इनार खनेर त्यहाँको पानी पनि कुलोमा खसाल्ने व्यवस्था मिलाइएको छ ।

यस बाहेक माडी फाँटको बिचमा एउटा डिप बोरिङ समेत खनिएको छ । लिफ्ट र डिपको पानीबाट सिँचाइको व्यवस्था मिलाएपछि जेनेटर लगाएर नदीको महँगो पानी किनेर खेतमा सिँचाइ गर्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन् ।

‘अब किसानलाई महँगोमा पानी किनेर सिँचाइ गर्नुपर्ने बाध्यता हटेको छ, न्यून शुल्क तिरेर खोलामा पानी नभएको बेलामा पनि सिँचाई गर्न सक्ने छन्’, वडाध्यक्ष पौडेलले भने ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १ : १२ बजे