काठमाडौं । नेकपा (माअोवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले देशले तरक्की गर्दैमा युवाहरू विदेशिन नरोकिने बताएका छन् । आइतबार प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावको छलफलमा बोल्ने क्रममा पुनले प्रधानमन्त्रीले गलत तथ्यांकसहित निराशा देखाउने प्रयास गरेको बताए ।
उनले प्रधानमन्त्रीका भनाइ कर्णप्रिय लागे पनि तथ्यांक भने गलत प्रस्तुत भएको बताए । उनले नेपालले आईटी क्षेत्रमा भएको प्रगतिबारे पनि चर्चा गरे ।
“यो ग्लोबल भिलेजमा जतिसुकै सेवा सुविधा भए पनि युवाहरू रोक्न सकिँदैन । उनीहरूलाई जहाँ भए पनि नेपालसँग जोड्न सक्नुपर्छ,” पुनले भने, “एक खर्ब बराबरको वार्षिक आईटी सेवा निर्यात भएको छ । पाँच वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने, २० खर्बको आईटी सेवा निर्यात गर्ने क्षमता हामीसँग छ ।”
उनले ‘ब्रेन ड्रेन भयो’ भनेर निराशा बाड्नुको साटो आईटीमार्फत ती युवाहरूलाई देशसँग जोड्नसपर्ने बताए । उनले प्रधानमन्त्री ओलीका कर्णप्रिय भनाइ पनि इतिहासँग जोडेर विश्वास गर्नुपर्ने बताए ।
“प्रधानमन्त्रीका शब्द त कर्णप्रिय छन् । तर, कतिपुय कुरा इतिहाससँग तुलना गरेर विश्वास गर्नुपर्ने हुन्छ,” पुनले भने, “कांग्रेस–माओवादी र एमाले–माओवादी सहकार्यको सरकारलाई निराशाका रूपमा प्रस्तुत गर्न खोजिएको छ । वास्तवमा त्यो तथ्य होइन ।”
उनले ओलीले तीन वर्ष सरकारको नेतृत्व गर्दा देशमा साढे १० खर्ब ऋण बढाएको बताए ।
“ऋण लिएर घिउ खाने जस्तो अवस्था भयो । उहाँ पछिको आजको दिनसम्मको चार वर्षमा जम्मा एक प्रतिशत मात्र ऋण वृद्धि भएको छ,” पुनले भने, “उहाँको समयमा कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत थियो । अहिले ४१ प्रतिशत भएको छ ।”
उनले ओलीको समयमा भन्दा धेरै सय गुणा बढी वैदेशिक सञ्चिति रहेको पनि बताए । उनले तथ्यांकको विश्वास गर्ने कि भावनाको भन्दै ओलीको भनाइमा प्रश्न उठाएका थिए ।
“डेटाहरूले समर्थन गर्ने हो कि प्रधानमन्त्रीको भावनात्मक निराशा सत्य हुन्छ ?,” पुनले भने, “गरिबीको दर घटेको छ, विकासको विस्तार भएको छ । नागरिकको पहुँच विस्तार भएको छ ।”
प्रतिक्रिया