Logo

बागमती प्रदेश

डेंगीको आशंका लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेंगी संक्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शंका लागे तत्काल फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।

परामर्श सेवाका लागि निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको महानगरका डेंगीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे ।

कामपाले उक्त संक्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र ५५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए ।

“डेंगी सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो,” उनले भने ।

रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १ : २३ बजे