काठमाडौं । सरकारले सडक दुर्घटनाका घाइतेको उपचार स्वास्थ्य संस्थाले रोक्न नपाउने व्यवस्था प्रस्ताव गरेको छ । सडक सुरक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावित मस्यौदामा दुर्घटनामा घाइतेको उपचार गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको कर्तव्य हुने उल्लेख छ ।
विधेयकको दफा २९ मा सडक दुर्घटनामा घाइतेलाई उपचारका लागि पुर्याइएको स्वास्थ्य संस्थाले उपचार गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सडक दुर्घटनाबाट मृत्यु वा अपांगता हुन नदिन दुर्घटनापछिको उपचारका लागि एकद्वार प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।
विधेयकले सडक दुर्घटनाबाट हुने हानि–नोक्सानी तथा क्षतिपूर्तिको व्यवस्थासमेत गरेको छ । दफा ३१ अनुसार दुर्घटना गराउने सवारीको पहिचान हुन नसकेमा वा बिमा नभएको सवारीबाट क्षतिपूर्ति दिलाउन सक्ने अवस्था नरहेमा सरकारले पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसले हिट एण्ड रनका घटनामा दुर्घटना गराउने सवारी वा सवारीधनी पहिचान हुन नसक्दा पीडितले क्षतिपूर्ति नपाउने अवस्था अन्त्य गर्ने उद्देश्य राखेको छ ।
त्यस्तै, पार्किङ निषेधित क्षेत्रमा सवारी पार्किङ गरिएका कारण दुर्घटना भएमा पार्किङ गर्ने सवारीधनीबाट क्षतिपूर्ति असुल गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
सडकको सवारी गुड्ने भाग वा सडकपेटीमा अनधिकृत रूपमा मालसामान राखेका कारण दुर्घटना भएमा त्यसरी सामान राख्ने व्यक्ति जिम्मेवार हुने र उसबाट क्षतिपूर्ति असुल गर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।








प्रतिक्रिया