Logo

मुख्य समाचार

कांग्रेसको बर्चश्व तोडेका मानवीरलाई रक्षा मन्त्रालयको चाबी



काठमाडौं । नवनियुक्त रक्षा मन्त्री मानवीर राईले पदभार ग्रहण गरेका हुन् ।

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका मन्त्री राईले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् ।

उनले पहिलो पटक मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका हुन् । एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट राईलाई मन्त्री बनाएको हो ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सोलुखुम्बूमा एमालेले पहिलो पटक २०७९ सालमा चुनाव जितेको थियो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई हराएर राई एमालेको तर्फबाट निर्वाचित भएका थिए ।

२०२७ साल असार ७ गते बुबा आशकुमार र आमा जतनमाया राईको अन्तरे छोराको रुपमा माप्य दुधकोशी गाउँपालिका २ ठूलोढुंगामा जन्मिएका उनी ०४२ सालबाट विद्यार्थी राजनीतिमा होमिएका थिए ।

२०७२ सालमा सम्पन्न छैटौँ अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटिको अध्यक्ष भइसकेका राई चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेसनबाट एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

कांग्रेसका केसी सोलुखुम्बुबाट ०४८ पछि निरन्तर चुनाव लड्दै आएपनि तेस्रो पटक पराजित भएका थिए । पछिल्लो निर्वाचनमा राईले १९ हजार ३ सय २४ मत पाएर विजयी हुँदा कांग्रेसका केसीले १६ हजार ५ सय ४५ मत पाएका थिए ।

बहुदलपछि भएका निर्वाचनमा ०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले विजयी गरेको बाहेक बाँकी सबै पाँच निर्वाचन कांग्रेसले जित्दै आएको थियो । निर्वाचनका बेला पुस्तानान्तरणको नारासहित मैदान उत्रिएका उनले पहिलो प्रयासमै ओलीको मन जितेर रक्षा मन्त्रालयको चाबी नै बोकिसकेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ४ : ५९ बजे