Logo

विशेष

सिंह र कोइरालामध्ये कस्ले मार्ला बाजी ? (कसरत जारी)



काठमाडौं, २२ मंसिर : नेपाली काँग्रेसको संस्थापन इतर सभापतिको साझा उम्मेदवार छान्न अन्तिम कसरतमा लागेका छन । यसअघि ४ जना दाबेदार रहेकोमा अब तीन जना बाँकी छन् ।

महामन्त्री डा. सशांक कोइराला ब्याक भएका छन् । उनले सहमतिको लागि त्याग गरेका छन् । सहमति भए आफू बढ्ने नभए पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालामध्येबाट एकलाई अगाडि बढाउने गरी वरिष्ठ नेता रामचन्द्र पौडेल सक्रिय छन् ।

पौडेलको समर्थन कस्लाई हुने स्पष्ट छैन । सिंह र कोइरालामध्ये एकले छाड्ने वा दुवै उम्मेदवार बन्नेमा कुरा अड्किएको छ ।

सिंह लामो राजनीतिक अनुभव, पटक पटकको त्यागलाई आधार मानेर कोइरालालाई छाड्न भनिरहेका छन् । कोइराला पनि आफू चुनाव जित्नसक्ने भएकाले छाड्न भनिरहेका छन् । उनी प्रकाशमानलाई प्रधानमन्त्रीमा साथ दिने ग्यारेन्टी गर्न समेत तयार छन् । तर, सिंह शेखर कोइरालालाई प्रधानमन्त्रीमा साथ दिन तयार रहेको तर सभापति छाड्न तयार नभएको बताइरहेका छन् ।

अब सिंह र कोइरालामध्ये कस्ले बाजी मार्ला ? चासो बनेको छ । पकडका हिसाबले दुवै नेताले आफ्नो क्षेत्रमा निकै गृहकार्य गरेका छन् । काठमाडौं उपत्यकालगायत बागमती प्रदेशको जिल्लाहरुमा सिंहको बलियो पकड छ । उनको पक्षको मत जता भन्यो उतै खस्ने खालको छ ।

प्रदेश १ मा कोइरालाको पकड बलियो छ । यही आधारमा शेखर कोइराला सभापतिको दोबदार देखिएका छन् ।

सिंह र कोइराला दुवै ब्याक नभए पौडेलको नाममा सहमति बन्ने सम्भावना पनि छ । कोइराला परिवारले एकपटक सिंहलाई छाडेर देउवाविरुद्ध सभापतिका लागि आक्रामक ढंगले बढ्ने सम्भावना पनि छ । तर, सिंह कुनै हालतमा नछाड्ने गरी अडान कसेर बसेका छन् ।

देउवाले उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्तावलाई लत्याएका सिंहले समूह नछाड्ने अडान पनि कसेका छन् । यसले पनि उनलाई मजबुत बनाएको छ । तर, यसपटक पनि आफूलाई त्यागका लागि वाध्य पार्न खोजे उनी कठोर कदम चालेर बढ्ने बुझिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ११ बजे