Logo

समाचार

पोखरामा नाटक लेखन कार्यशाला आयोजना हुँदै



गण्डकी । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशाला सहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा  नाटक लेखन कार्यशाला सहित नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला,  स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठीका साथै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो श्रृङ्खला आयोजना गर्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नाटक लेखन कार्यशाला पुस १ गतेदेखि ११ गतेसम्म  बिहान १०ः ०० बजेदेखि साँझ ५ः०० बजेसम्म गरिनेछ । एघार दिनसम्म पूरा समय दिन सक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउने जानकारी दिदै उनले सहभगिताका लागि नाटकको नमुना पठाउनुपर्ने बताए । इच्छुकले एक हजार शब्दमा नबढाई नमुना नाटक लेखेर मङ्सिर २३ गते बेलुका ५ः ०० बजेसम्म पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । आवेदनमा परेका नाटकमध्येबाट बढीमा आठ आवेदकलाई उत्कृष्टताका आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिए । 

पोखरा प्रज्ञा प्रतिष्ठान कार्यशालाको अर्को आयोजक हो भने पोखरा थिएटरको सहकार्य छ । पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजना हुने कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्ने छन् । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ ।

प्रतिष्ठानको आयोजनामा पुस ४ गतेबाट ८ गतेसम्म स्याङजा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिने प्रतिष्ठानले जनाएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा हुन लागेको कार्यशालामा २५ जनालाई सहभागी गराइने कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै स्थापित जाति विस्तापित भाषाको दुई महिने कार्यशाला पुस १० गतेदेखि गरिने र यो  प्रदेशका माग भएका जिल्लामा गरिने सदस्य सचिव श्रेष्ठले जानकारी दिए  । गण्डकी प्रदेश अन्र्तगतका ८४ जाति मध्ये क्रमांङ्क १ देखि २० सम्मका २० जातिको अध्ययन गरिने र प्रत्येकको तीन संस्कृति तथा पाँचबाजाको अध्ययन गरेर ती जाति संस्कृति र बाजाको बारेमा पुस्तक तयार पार्ने प्रतिष्ठानको योजना छ ।

अध्ययनलाई आधार बनाएर विद्यालय अन्र्तगतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयको रुपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी रहेको श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले पुस महिनामा नै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गर्नुका साथै पुस महिनाको दोस्रो हप्ता म्याग्दिमा कवि गोष्ठीको आयोजना गर्न लागेको छ ।

प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यसको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैं क्रियाशील बन्ने कुलपति सूर्य खड्का विखर्चीले जानकारी दिए ।  प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको अध्ययन अनुसन्धान र सम्वद्र्धनका लागि निरन्तर कार्य गर्ने उनले बताए । 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ४९ बजे