Logo

मुख्य समाचार

३३ किलो सुन प्रकरणमा फरार अग्रवाल विमानस्थलबाट पक्राउ



काठमाडौँ, २१ मंसिर : ३३ किलो सुन बेपत्ता प्रकरण र सनम शाक्य हत्या प्रकरणमा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  झापा साविक शिवगंज गाविस–१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई नेपाल प्रहरीबाट खटिएको टोलीले पक्राउ गरेको हाे।

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका फरार प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि फरार थिए। यसअघि नेपाल प्रहरीले इन्टरपोल शाखामार्फत् ‘रेड नोटिस’ जारी गर्न पत्राचार गरेको थियो।

सञ्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरूमध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले अईतवार उनलाई पक्राउ गरेको थियो।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसुर कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको सो शाखाले जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ५४ बजे