Logo

विशेष

भुपेन्द्र बडुवाल हत्या प्रकरण : १२ जना पक्राउ ९ जना अझै फरार , अपराधिलाई जीवित रहेसम्म जेल सजायको माग



धनगढी : कैलालीका युवक भूपेन्द्र बडुवाल हत्या प्रकरणको विवरण प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार बडुवालको हत्यामा २१ जनालाई अभियुक्त बनाइएको छ।

उनीहरुमध्ये १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार छन्। लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भन्ने निशान्त मल्ल पक्राउ परेका छन्।

यस्तै वडा नम्बर ५ बस्ने २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबिण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नं. १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया–२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा–३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परेका छन्।


यस्तै लम्कीचुहा नगरपालिका –३ चिसापानी बस्ने २७ वर्षीय नविन रावल, चिरञ्जीबी जंग शाही, हिमाल शाही, जानकी– ६ जगतपुरका जयन्द्र शाह, टीकापुर–१ बस्ने बिकास शेरचन, लम्कीचुहा–४ बस्ने रोशनबहादुर शाही, टीकापुर–६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा– ५ बस्ने हेमन्त शाही भने फरार छन्।

करिब ३-४ वर्षदेखि लोकजंग शाहीको समूहले लामो समयदेखि कैलालीको लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा पैदावारको ठेकापट्टामा बर्चश्व जमाउँदै आएको थियो । उनीहरु आपराधिक लाभको लागि परिचालन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यो समूहलाई हत्यामा संलग्न रही फरार रहेका भनिएका अशोक रावलले संरक्षण गर्दै आएका थिए ।

प्रहरीका अनुसार सुरुमा एउटै समूहमा रहेर काम गर्दै आएका जयन्द्र शाह र नविन रावलबीच मनमुटाव भयो । यस क्रममा गत भदौमा काठमाडौंको कालीमाटीमा जयन्द्र शाहको समूहले नविन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गर्ने प्रयास गर्यो । त्यसपछि उनीहरुबीच एक अर्को समूहलाई आक्रमण गर्ने योजना बन्न थालेको प्रहरी बताउँछ ।

कात्तिक १७ गते जयन्द्र समूहको तर्फबाट कपिल श्रेष्ठ, नविन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएर २० गते कैलालीको लम्की गई मुनमुन होटलमा बस्छन् । त्यसको भोलिपल्ट र पर्सिपल्ट उनी बौनियास्थित अनुकूल होटलमा बसेर नविन रावललाई आक्रमण गर्ने उपयुक्त अवसरका खोजीमा रहन्छन् । यसैबीच, नविन रावलको समूह लम्कीमा आयोजित फुटबल हेर्न आएको थाहा हुन्छ । तर, आफ्नो समूहको कोही नआउँदा आक्रमणको योजना विफल भएको बयान दिएका छन् ।

यसबीचमा अर्को समूहका मदन शाहीले नविनलाई भेटेका हुन्छन् । जुन कुराको जानकारी उनले नविन रावल समूहलाई दिन्छन् । त्यसपछि उनीहरु जयन्द्र समूहको जो भेटेपनि आक्रमण गर्ने योजनासहित तयार हुन्छन् । यता, नविन रावल समूहलाई आक्रमण गर्ने योजनामा लम्कीचुहा पुगेका कपिल श्रेष्ठ एक्लिन्छन् । आक्रमणका लागि समूहका कोही नआएपछि उनी टीकापुर क्षेत्रमा लुकेर बस्छन् र लम्कीमा रहेका मृतक भुपेन्द्र बडुवाललाई फोन गरेर लिन बोलाउँछन् ।

जयन्द्र समूहका जो कोहीलाई पनि भेटे आक्रमणका लागि तयार भएका नविन रावलको समूहका आर्यन देवकोटा, चिरञ्जिवी शाही र रोशन शाही र नविन रावल आफै निस्किन्छन् । यो समूहसँग भुपेन्द्रको टीकापुर जमरा पुलनजिकै भेट हुन्छ । उनीहरुले भुपेन्द्रलाई २ किलोमिटरसम्म लखेट्छन् । र, सिद्धार्थ होटल पुगेपछि भुपेन्द्रले मोटरसाइकल छाडेर आफन्तको घरमा छिर्न लाग्दै गर्दा कौशीदेवी विष्टको घरको पेटीमा नै उनीमाथि सांघातिक आक्रमण हुन्छ । उनको पेट, छाती, पिठ्यु, टाउकोमा चक्कु र खुकुरीको प्रहार गरिएको प्रहरीले उल्लेख गरेको छ ।

हत्यापछि लोकजंग शाहीको योजनामा नै चायाँ भावर गाउँमा खाने बस्ने व्यवस्थापन गर्ने, खर्च दिने र २५ गते प्रतिवादीहरुलाई भगाउन सविनजंग शाहीले कार भाडामा लिएको खुल्न आएको प्रहरीले बताएको छ । प्रहरीले फरार प्रतिवादीहरु भारत भागेको हुन सक्ने जनाएको छ ।

प्रहरीले यी दुवै समूहका सदस्यहरुमध्ये केहीविरुद्ध जिल्ला मातहत र काठमाडौंमा समेत ६ वटा ज्यान मारेको अभियोगमा मुद्धा र २ वटा हातहतियार र खरखजानासम्बन्धी मुद्दा दर्ता भएको जानकारी दिएको छ । उनीहरुमध्ये केही धरौटीमा रिहा भएका, केहीले मुद्दा खेपिरहेका छन् ।

नविन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रविण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैदसजाय मागदाबी गरिएको छ।


लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ ९२० बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ ९३० ९क० बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय माग गरिएको छ। यस्तै दफा १८६ बमोजिम प्रतिवादीहरुबाट जाहेरवालालाई मनासिव क्षतिपूर्तीको पनि माग गरिएको छ। कार्तिक २३ गते टीकापुरमा भूपेन्द्रको हत्या भएको थियो।

प्रहरीले यो समूहका विभिन्न सदस्यको फेसबुक पेजमा बन्दुक बोकेको भिडियो अपलोड हुने गरेको जानकारी दिएको छ । उनीहरुले बन्दुक बोकेको भिडियो देखाउँदै धम्क्याउँदै रकम असुली गर्दै आएका थिए । उनीहरुको समूहबारे थप अनुसन्धान गरी एक बोरा खुकुरीसमेत बरामद गरेको डिएसपी जोशीले बताए ।

घटनास्थलबाट सु.प.प.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धार्थ होटलमा कैद भएको फुटेजमा भुपेन्द्रमाथि प्रहार गरेर ती नम्बरको मोटरसाइकल चढेर फरार भएको उल्लेख छ । भुपेन्द्रको मोटरसाइकल पछ्याउँदै आएको नविन रावलसमेतको समूहले भुपेन्द्रको टाउको, पिठ्यूँमा प्रहार गरेको थियो ।

डिएसपी जोशीले लोकजंग शाही लगायतले हत्या र आक्रमणका लागि प्रशिक्षण दिने गरेका भिडियोहरुसमेत फेला पारेको बताएका छन् । प्रहरीले २१ जना अभियुक्तको बारेमा पत्ता लागेको जनाएको छ ।

सोमबार पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डिएसपी जोशीले भने, ‘यो घटनापछि यी दुई समूह तितरबितर भएको छ । अब थप आक्रमण हुने सम्भावना कम छ ।’ जुनकुनै स्थानमा लुकेर बसे पनि खोजतलास जारी रहने उनले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ३३ बजे