Logo

समाचार

राप्रपामा अब दुई कार्यकाल मात्रै नेतृत्वमा बस्न पाइने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्वमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने गरी विधान संशोधन गरेको छ । यससँगै एउटै व्यक्ति वर्षौंसम्म अध्यक्ष रहने परम्परा अन्त्य भएको छ ।

बुधबार काठमाडौंमा सुरु भएकाे महाधिवेशनले सबै तहको नेतृत्वमा दुई कार्यकालभन्दा बस्न नपाउने व्यवस्थासहितको विधान पारित गरेको हो । गाउँ, नगर, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म अध्यक्ष बन्ने व्यक्तिले अब दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था महाधिवेशनले पारित गरेको विधान संशोधन समितिका संयोजक निरञ्जन थापाले बताए । पार्टीको महत्त्वपूर्ण पदमा महिला पनि निर्वाचित हुन सक्ने व्यवस्था विधानमा राखिएको उनले बताए ।

१ सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब ६६ जना महिला रहनेछन् । केन्द्रीय कार्यसमितिमा अध्यक्ष १, उपाध्यक्ष ६, महामन्त्री ६ र कोषाध्यक्ष १ जना हुने व्यवस्था छ । त्यस्तै सहमहामन्त्री ७, सहायक महामन्त्री ७, सहकोषाध्यक्ष १ र सहायक प्रवक्ताहरू रहनेछन् । अध्यक्ष, एक महिलासहित ३ उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चुनिनेछन् । केन्द्रीय सदस्य ५८ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने प्रावधान थपिएको छ । आदिवासी जनजाति १४, मधेसी ११, उत्पीडित ३, मुस्लिम ३, कर्णाली तथा पिछडिएका क्षेत्र २, थारू २ र प्रवासबाट २ जना छानिनेछन् । यसमा महिला कति हुने भन्ने निर्धारण गरिएको छ ।

राप्रपाले बिहीबार उम्मेदवारी मनोनयन गर्ने र शुक्रबार निर्वाचन गर्ने जनाएको छ । राप्रपाका तीन अध्यक्षमध्ये पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । वरिष्ठ नेताहरूले नेतृत्व चयन सहमतिबाट गर्न दबाब दिए पनि कमल थापा र राजेन्द्र लिङ्देनले पछि हट्न चाहेका छैनन् । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०५ बजे