Logo

मुख्य समाचार

‘वातावरण दिवसलाई अभियानको रुपमा मात्र सीमित नराखौं’



काठमाडौं । वन तथा वातावरण मन्त्रालय, वातावरण तथा जैविक विविधता महाशाखा महानिर्देशक मेघनाथ काफ्लेले, वातावरण दिवसलाई पाँच दशकदेखि एक दिने अभियानको रुपमा मात्र सीमित राख्दा त्यसको औचित्य पुष्टि हुनै नसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित वातावरण संरक्षण तथा प्रदुषण नियन्त्रण सम्बन्धी सरोकारवालाहरूसँग भएको अन्तर्क्रिया कार्यक्रममा उनले वातावरण दिवस मनाएको पाँच दशक वित्दा पनि त्यो दिवसको दिन अभियानमा मात्र सिमित रहेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले वातावरण दिवसलाई सचेतना फैलाउने दिनमा मात्रै सिमित राखे त्यसको अर्थ नै नहुने प्रष्ट पारे ।

उनले भने,‘आज हामीले वातावरण दिवस मनाएको ५० वर्ष भइसक्यो । वातावरण दिवसलाई अभियानको रुपमा लिने सचेतना जगाउने मात्र गरिरहेको छौ । अब पनि वातावरण दिवसलाई अभियान र सचेतनामा मात्र सीमित राख्यौ भने यसले ५० वर्ष मनाएको अर्थ रहँदैन् ।’

यस्तै उनले वातावरण प्रति जागरुकता जगाउने र सचेतना फैलाउनेमा मात्र दिवसलाई सिमित नगरेर वातावरण संरक्षणका लागि एक्सन प्लान बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै भने,   ‘अब हामीले सचेतनामा मात्र नभई काममा पनि जानुपर्छ । त्यसैले यसलाई एक्सनमा नै अगाडि ल्याउन पहल गर्दै छौं ।’

उनले वातावरण संरक्षणको लागि तीन तहको सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै काठमाडौंको फोहोर व्यवस्थापनको लागि वातावरण व्यवस्थापनको छुट्टै मूल्याङ्कनको अध्ययन प्रतिवेदन बनाएर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हरेक पालिकामा आफ्नो आफ्नो योजना बनाउने र वातावरण संरक्षणको लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार मिलेर सहकार्य गर्न आवश्यक छ । काठमाडौंको फोहोर व्यवस्थापन कार्य वातावरण संरक्षणसँग सम्बन्धित कार्य हो । न यसको सिङ्गो योजना छ, न सिङ्गो वातावरण व्यवस्थापनको छुट्टै मूल्याङ्कनको अध्ययन प्रतिवेदन छ । यहाँ बञ्चरे डाँडाको फोहोर फाल्ने ठाउँको घरको मात्रै व्यवस्थापन योजना छ ।’

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ३ : ४१ बजे