Logo

खेलकुद

आईसीसी विश्वकप क्रिकेट : अमेरिकामा के गर्दैछ नेपाली टिम ?



काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरुमाझ उपस्थित भयो । नेपाल क्रिकेट संघ क्यानका अध्यक्षसहित खेलाडी र अफिसियलहरु सहभागी भएको कार्यक्रममा समर्थकहरुले कप्तान रोहित पौडेल र अध्यक्ष चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थिए ।

सन्दीपलाई अमेरिकन राजदूतावासले भिसा नदिए पछि जान नपाएका हुन् । सन्दीपको खोजी भइरहँदा कप्तान पौडेलले कुनै जवाफ दिएनन् भने अध्यक्ष चन्दले समर्थकहरुमाझ झोक्किँदै उनले आफूहरुले सक्दो प्रयास गरेको बताए । अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको फ्यान फेस्टिबलमा उपस्थित हुनका लागि ४५ डलरको टिकटको व्यवस्था गरिएको थियो भने विश्वकप क्रिकेट हेर्नका लागि १३५ रुपैयाँमा टिकट किन्न पाइने व्यवस्था गरिएको छ ।

आइसीसीबाट ४ सय टिकट पाएको क्यानले के कसरी वितरण गरेको भन्ने आधिकारिक जानकारी गराएको छैन । बुझिए अनुसार क्यानले आइसीसीबाट १०० डलरका दरले टिकट किनेको र त्यसमा ट्क्यास जोडेर १३५ डलर कायम गरेको अमेरिकामा रहेका नेपालीहरुले जानकारी दिएका छन् ।

नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्न भन्दा पनि घुम्नका लागि गएको जस्तो देखिएको छ । सुरुमा फ्लोरिडामा अभ्यास गरेको नेपाली टोली त्यसपछि वेस्टइन्डिज गएर पुनः अमेरिका फर्किएको थियो । अमेरिकामा गैर आवासीय नेपाली संघले गरेको कार्यक्रममा सहभागी भएको नेपाली टोलीमा यहाँबाट गएका पदाधिकारीहरु भने मुस्किलले देखिएका थिए ।

यसैगरी फ्यान फेस्टिबलमा पनि थोरै सहभागी भएकाहरु घुम्नकै लागि गएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । नेपाली टोली विश्वकपका लागि नेटमा हुनु पर्नेमा रेस्टुरेन्टमा रहेर कसरी अभ्यास गरिरहेको भन्दै सामाजिक सञ्जालमा नेपालीहरुले नै असन्तुष्टि जनाएका छन् ।

नेपाली टिम आइतबारको कार्यक्रम पछि सोमबार विहानै टेक्ससमा रहेको पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने तयारी गरिएको छ । नेपाली टिमले मंगलबार नेपाली समय अनुसार राति सवा ९ बजे नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १० : ०० बजे