Logo

खेलकुद

मेस्सीलाई सातौ पटक ‘बालोन डी ओर’ अवार्ड



काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सीले किर्तीमानी सातौ पटक बालोन डी ओर अवार्ड जितेका छन् ।

फ्रेन्च फुटबल पत्रिकाले गएराति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको हो । यस अघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यो अवार्ड जितेका थिए ।

मेस्सीले जर्मन क्लब बायर्न म्युनिखमा पोलीस खेलाडी रोबर्ट लेवान्डोस्की र इंग्लीश क्लब चेल्सीका इटालीयन खेलाडी जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सी बालोन डी ओर जित्ने फ्रेन्च क्लब पीएसजीका पहिलो खेलाडी समेत बनेका छन् । मेस्सीले गत सिजन आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । महिलातर्फको अवार्ड बार्सिलोनाकी अलेक्सिया पुटेलासले जितिन् ।

यस्तै लेवान्डोस्की ‘स्ट्राइकर अफ दि इयर’को उपाधि हात पार्दा बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्री यूवातर्फ उत्कृष्ट खेलाडी बन्न सफल भए ।

इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ११ बजे