Logo

मुख्य समाचार

बाँसबारी, बालमन्दिर, गिरीबन्धु र टिकापुर जग्गा सबैको फाइल खोल्छौँ : सांसद मनिष झा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बालमन्दिर जग्गा, बाँसबारी जग्गा, टिकापुरको जग्गा, भुटानी शरणार्थी, गिरीबन्दु र टेरामक्स यो सबैको फाइल खोल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले १ सय २२ दिन मात्रै सरकारमा आउँदा कांग्रेसले सबै कुरा रास्वपाले बिगारेको जस्तो व्यवहार गरेको बताए ।

राजनीतिक परिवर्तनमा कसैको कपी राइट नहुने र सबैको योगदान उत्तिकै हुने उल्लेख गरे । रास्वपा जेलमा यति दिन बस्यौँ, बागबजारमा यति दिन टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा नआएको बताउँदै उनले अरू धेरै आधार रहेको र केही गर्न आएको बताए ।

उनले चुरे दोहनका कारण तराईमा पानीको हाहाकार हुँदा यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो भन्दै प्रश्न समेत गरे । एकै पटक ६ सय ठाउँमा डँडेलो लागेको बेला संसद्‌मा बोल्न नदिएको गुनासो समेत उनले गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानबिन समिति बनाउन तयार रहेको र सदनमा प्रश्न सोधेपछि त्यसको जवाफ सदनमा दिन पाउनुपर्ने बताए । व्यक्तिवादी संसदीय छानबिन समिति बन्न नहुने भनेकोमा अहिले त्यही विषयमा छानबिन समिति बनेको भन्दै उनले संसद् अवरुद्ध गर्नुको अर्थ के हो भनेर प्रश्न समेत गरे ।

२०५४ साल असोज १६ गते पहिलो संसदीय समिति बनेको र त्यसयता बनेका १४ वटा संसदीय समिति कुनै पनि व्यक्ति केन्द्रित नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १ : २६ बजे