Logo

मनोरञ्जन

संगीत स्रष्टा र पत्रकारलाई म्यूजिक खबरको सम्मान घोषणा



काठमाडौं । ११औं संस्करणको ‘श्रीकेश म्यूजिक खबर म्यूजिक अवार्ड २०८०’मा नेपाली गीत संगीत तथा पत्रकारितामा आबद्ध स्रष्टा र सञ्चारकर्मीलाई सम्मान गरिने भएको छ ।

म्यूजिक खबर डटकमको आयोजना हुँदै आएको अवार्डमा यस वर्ष गीतकार चुडामणि देवकोटालाई ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ । यही जेठ २५ गते हुने अवार्डमा गीतकार देवकोटालाई ५१ हजार रुपैंयाँसहित ‘दीर्घ साधना सम्मान’ प्रदान गर्न लागिएको हो ।

त्यस्तै गायक ओमविक्रम विष्टलाई ‘म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान’ प्रदान गरिने भएको छ । नेपाली गीत संगीतमा ५ दशकदेखि सक्रिय गायक ओम पछिल्लो दशकमा अमेरिकामा बस्दै आएका छन् ।

त्यस्तै गायक तथा संगीतकार अशोककुमार राईलाई ‘म्यूजिक खबर रजत सङ्गीत सम्मान’ प्रदान गरिने भएको छ । २०४७ सालदेखि निरन्तर क्रियाशिल गायक तथा संगीतकार राईको संगीत सिर्जनामा करिब १ हजारभन्दा माथि गीत रेकर्ड भइसकेका छन् भने उनको संगीत संयोजनमा रहेका ४ हजार भन्दा माथि गीत रेकर्ड गरिएका छन् ।

यसैगरी गायक राजु परियार र गायिका रिता थापा मगरलाई ‘म्यूजिक खबर दशक संगीत सम्मान’, गायक बैकुण्ठ महतलाई ‘म्यूजिक खबर युवा प्रतिभा संगीत सम्मान’ गायक अशोक दर्जीलाई ‘म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिने भएको छ ।

यसैगरी पत्रकार डब्बु क्षेत्रीलाई ‘म्यूजिक खबर सङ्गीत पत्रकारिता सम्मान’ र  सञ्चारकर्मी सुदर्शनप्रसाद आचार्यलाई ‘म्यूजिक खबर सङ्गीत सञ्चारकर्मी सम्मान’ प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : ४२ बजे