Logo

मुख्य समाचार

बजेटका सकरात्मक विषयलाई प्राथमिकता दिन निर्देशन


१८ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । बजेट छलफलमा प्रस्तुत हुँदा बजेटको सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने हिसाबले प्रस्तुत हुन प्रधानमन्त्रीले सबैलाई निर्देशित गरेका छन् ।

शुक्रबार संघीय संसदीय दलको बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

उनले भने, ‘सबै हिसाबले यो बजेट सन्तुलित छ । सही दिशा समातेको छ यसले अब । यसलाई कार्यान्वयनको लागि अलिकति जोड गरेर जानुपर्छ भन्ने सबैको सुझाव आयो । त्यही रुपमा बजेट छलफलमा प्रस्तुत हुँदा पनि बजेटको सकारात्मक विषयवस्तुलाई हाइलाइट गर्ने गरेर सदनमा सहभागी हुनको लागि प्रधानमन्त्रीले निर्देशित गर्नु भएको छ ।’

उनले बजेटको सीमा भएपनि अर्थ चलायमान र गतिशिल बनाउँदै यसले एउटा ठोस रुप लिने विश्वास लिएको पनि बताए । 

उनले भने, ‘बजेटको सिमितता त छ तर पनि अर्थ चलायमान र गतिशिल बनाउँदै यसले एउटा ठोस विषयवस्तु लिन्छ । अर्थमन्त्रीले यसको बारेमा विश्लेषण गर्नुभएको छ । त्यसैले बजेट अहिलेको सापेक्षता, देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था र समीकरणका साथ अगाडि बढी रहेका छौ ।’

समितिका कामहरु अगाडि बढाउने, २० गतेबाट लगातार बजेट उपरको छलफल गर्ने र विधेयकको काममा पनि तिव्रताका साथ जाने भन्ने निर्णय पनि भएको छ ।

उनले भने, ‘अब समितिका कामहरुमा पनि सबैजना एकजुट हुने र २० गतेबाट लगातार बजेट उपरको छलफलका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा पनि गतिका साथ अगाडि बढाउने कुरा भएको छ । विधेयकको काममा पनि तिव्रताका साथ जाने भन्ने निर्णय भएको छ ।’

समाजवादको आधार तयार बनाउनको लागि उत्पादन वृद्धि, उत्पादकत्व वृद्धि र सामाजिक न्यायलाई मुल अभिमुखीकरण बनाएर बजेट त्यतातिर ढल्केको पनि उनको भनाई छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ३ : १५ बजे