Logo

विचित्र संसार

दैनिक आधा किलो बालुवा खाने ८० वर्षीया महिला



एजेन्सी । कतिपय मानिसहरु आफ्नो अनौठो हर्कतका कारण चर्चामा आउँछन् । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित वाराणसीमा बस्ने एक वृद्धा आफ्नो लतका कारण चर्चामा छिन् । कुसुमावती देवी नामकी ८० वर्षीया वृद्धाले हरेक दिन झण्डै आधा किलोसम्म बालुवा खाने गरेकी छिन् ।

उनले १८ वर्षको उमेरदेखि बालुवा खाँदै आएकी छिन् । यत्तिका वर्षसम्म निरन्तर बालुवा खाइरहँदा पनि उनको स्वास्थ्यमा कुनै नकारात्मक असर परेको छैन । तर डाक्टरहरु भने यसरी बालुवा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक भएको बताउँछन्।

कुसुमावती देवी हरेक दिन बिहानको नास्ता गर्छिन् र खाना खान्छिन् । तर त्यसपछि उनले बालुवा पनि खाने गर्छिन् । कुसुमावतीका अनुसार जब उनी १८ वर्षकी थिइन् तब एकदिन उपचारका लागि वैद्यकोमा गएकी थिइन् । वैद्यले उनलाई गुइँठाको खरानी खानका लागि भने पछि उनले खरानी खान सुरु गरिन् । तर खरानी खाने कुसुमावतीलाई विस्तारै बालुवा खाने लत बस्न थाल्यो ।

कुसुमावती आफूले खाने बालुवा आफै खोजेर ल्याउँछिन् । त्यसपछि बालुवालाई सफा पानीले धोइपखाली गरेर सुकाउँछिन् र खान्छिन् । आफ्नो बालुवा खाने लतका अगाडि कुसुमावतीले सबैका कुरालाई नजरअन्दाज गर्दछिन् । बालुवा नखाएमा आफुलाई निद्रा नै नआउने उनको भनाई छ । कुसुमावतीले एक कुखुरा फार्म खोलेर आफ्नो गुजारा चलाइरहेकी छिन् । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ०४ बजे