Logo

मुख्य समाचार

सहकारीको वचत अपचलन गर्ने जोकोहीलाई कारवाही हुनुपर्छ : डा. संग्रौला


१८ जेष्ठ २०८१, शुक्रबार  

92
Shares

नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले उपप्रधान एव गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरुको स्पष्ट छानविन हुनुपर्ने जोड दिएकी छिन् ।

कांग्रेसले सदन र सडकमार्फत दबाब सिर्जना गराएर छानविन समिति बनाएको उल्लेख गर्दै सर्वसाधाराणक बचतकर्ताको रकम अपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारवाहीका भागीदार बन्नुपर्ने बताइन ।

शुक्रबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेला एवम अन्तरक्रिया कार्यक्रममा उनले सहकारीको पैसा अपचलन गर्ने जोकोही कारवाहीको दायरामा आउनुपर्ने बताइन ।

‘गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी)राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गर्नुभएको छ तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक रहेको स्पष्ट छ । त्यसको छानविन हुनुपर्छ,’ उनले भनिन् ।

त्यस्तै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट कम्तीमा १० करोड रुपैयाँ र साहारा चितवन सहकारीबाट कम्तीमा ११ करोड ७१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा सारिएको विवरण सप्रमाण प्रकाशित भइसकेकाले यसको स्पष्ट छानविन हुनुपर्नेमा उनको जोड थियो ।

त्यस्तै डा. संग्रौंलाले सरकारले भर्खरै ल्याएको ठूलो आकारको बजेटले आर्थिक बृद्धिदर ६ प्रतिशतले बढ्ने घोषणा गरेपनि लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने बताइन बजेट कर्मकाण्डी मात्र देखिन्छ । बजेटरी सुधार केही छैन । बजेट कनिका छर्ने प्रबृत्तिको छ । आफ्ना कार्यकर्ता र समर्थकबाट आएका योजना प्राथमिकतामा छन भने ठूला आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिएको छैन । यसबाट उत्साहित हुने अवस्था छैन, ‘ उनले भनिन ।

उनले कांग्रेस अब जनताको घरदैलोमा पुगेर वास्तविक समस्या बुझ्ने र आवाज उठाउने अभियानमा जुटेको बताइन ।

समृद्ध एवम समुन्नत नेपाल र सम्मानित नेपाली पार्टीको ध्येय भएको उल्लेख गर्दै डा.संग्रौलाले प्रतिपक्षमा बसेर जनताका भावना र चाहना बोलिरहने प्रतिबद्धता जनाइन । जनता र जनजीविकाका सवालमा कांग्रेसले काम गर्नुपर्ने उनको भनाइ छ ।

सत्ता गठबन्धन विधि, कानुन र प्रक्रिया मिचेर निरंकुशतातर्फ उन्मुख रहेको उल्लेख गर्दै सर्वसत्तावाद स्वीकार्य नहुने चेतावनी दिइन । उनले कांग्रेसले अब जनतालाई विकाससँग जोडेर र जनताका हरेक समस्याहरुको समाधान गरेर अघि बढ्नुपर्ने धारणा राखिन ।

नेपालगन्ज सुर्खेत हुँदै कर्णालीका जिल्ला भ्रमणमा रहेकी डा.संग्रौलासँगै पूर्वमन्त्री एनपी साउद, केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाह छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १ : ०२ बजे