Logo

मुख्य समाचार

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी



काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले नेता एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ अगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीलाई वैधानिकता दिने सरकारको निर्णयले आफ्नो मागले सार्थकता पाएको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तामाङले विश्व स्वास्थ्य संगठनले समेत गाँजालाई औषधीय गुण भएको वनस्पति उल्लेख गरिसकेको भन्दै सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

उनले भने, ‘गाँजा खेतीको व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयकलाई २०७६  फागुन १९ गते गैरसरकारी विधेयकका रुपमा दर्ता गरेका थियौं । विश्व स्वास्थ्य संगठनले समेत गाँजा हानिकारक लागुऔषधि होइन, औषधीय गुण भएको वनस्पति भएको बताएको छ । उसले यसलाई हानिकारक लागुऔषधको सूचीबाट हटाएको छ । पछि लामो समयसम्म पनि हामीले अघि सारेको विधेयक पास हुन नसकेको अवस्थामा गत आर्थिक वर्षको बजेटमा गाँजालाई औषधीय प्रयोजनको लागि खुला गर्ने बोलेको भए पनि सरकारले बाँकी प्रक्रिया अगाडि बढाएन । अहिले बजेटमा समेटेको छ ।’

मंगलबार अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजा खेतीलाई वैधानिकता दिई, आवश्यक कानुन बनाउने र कोदोको रक्सीको ब्राण्डिङको विषयमा वक्तव्य दिएका थिए ।

तामाङले भने, ‘हिजोमात्र संसदमा भएको बजेट भाषणको ४९ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोजनका लागि यसको खेती गर्ने र आवश्यक कानुन बनाउने उल्लेख गरिएको छ । त्यसपछि बजेटकै ९४ नम्बर बुँदामा कोदोको रक्सीको उत्पादन, बजारीकरण र कानुनी व्यवस्था मिलाउने उल्लेख गरिएको छ । त्यसकारण  सरकारलाई धेरै धन्यावाद दिन चाहन्छु ।’

सरकारले गाँजाको वैधानिकताबारे बजेटमा समावेश गरिसकेको भन्दै अब प्रहरीले गाँजा फडानी गर्न आए प्रतिवाद गर्न समेत उनको आग्रह थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : ०८ बजे