Logo

मुख्य समाचार

आरोहक्रममा ज्यान गुमाउने शेर्पाको लागि कल्याणकारी कोष स्थापना हुने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले आरोहणको क्रममा मृत्यु भएका आरोही शेर्पाहरुका लागि कल्याणकारी कोष व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कल्याणकारी कोषको लागि मन्त्रालयको तर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाउने भन्दै आरोहणको क्षेत्रमा कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढेको बताए ।

उनले भने, ‘नेपालको पर्वतीय पर्यटन र आरोहणको क्षेत्रमा हामीले केही कानूनहरु समयसापेक्ष संशोधनको प्रक्रिया समेत अगाडि बढाइरहेका छांै । नेपालको आरोही समुदाय अथवा स्वदेशी र विदेशी आरोहीको सपना साकार पार्ने क्रममा मृत्यु भएका आरोही शेर्पाहरुका लागि कल्याणकारी कोषको व्यवस्थाको लागि नेपाल सरकार सकारात्मक छ । यस विषयमा मन्त्रालयको तर्फबाट पनि औपचारिक हिसाबले प्रस्ताव अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।’

मन्त्रीले सूचना संकलन, समप्रेषण, समन्वय, सहजीकरण र नियमन लगायतका कार्यहरु सम्पादन गर्नका लागि यस वर्ष सगरमाथा आधार शिविरमा अस्थायी फिट कार्यालय स्थापनाका साथ काम अगाडि बढेको पनि जानकारी दिएका छन् ।

उनले भने, ‘नेपाल सरकारले सूचना संकलन, समप्रेषण, समन्वय, सहजीकरण र नियमन लगायतका कार्यहरु सम्पादन गर्नका लागि यस वर्ष सगरमाथा आधार शिविरमा अस्थायि फिट कार्यालय स्थापना गरेर हरेक आरोहीको रेकड राख्ने प्रयासको थालनी पनि गरेको छ । सम्पूणर् सूचनाको आधारमा यस कार्यालयले कुशलतापूर्वक कार्यसम्पादन गर्न सफल भएको पनि छ ।’

यसको साथै, नेपाल सरकारले आगामी वर्ष नेपालमा १६ लाख पर्यटनको आगमनको लक्ष्य निर्धारण गरेको भन्दै त्यो लक्ष्य पूरा गर्नका लागि सबैको समन्वय र सहकार्य आवश्यक भएको पनि उनको भनाई छ ।

उनले भने, ‘नेपाल सरकारले आगामी वर्ष नेपालमा १६ लाख पर्यटनको आगमनको लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य पूरा गर्नको लागि पर्वतारोहीहरुसँग सम्बन्धीत विभिन्न संस्था, समुदायहरु र पर्यटन व्यवसायहरु सबैसँग समन्वय गरेर सहकार्य गरेर नेपाल सरकारले राखेको लक्ष्य पूरा गर्न लाग्ने छौं ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ११ : ४९ बजे