Logo

कला/साहित्य

रामचन्द्र पौडेलको ‘कांग्रेसको अबको बाटो’ सार्वजनिक



काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा वैचारिक बहसका लागि ‘कांग्रेसको अबको बाटो’ (रुपान्तरणका १० सुत्र) नीतिगत अवधारणा सार्वजनिक गरेका छन् ।  

पार्टीको १४औँ महाधिवेशनको सङ्घारमा उनले आइतबार बौद्धिक व्यक्तित्व र सञ्चाकर्मीसँग अन्तरक्रिया गर्दै सो नीतिगत अवधारणा कांग्रेसको भावी वैचारिक बहसका लागि उपयोगी हुने बताए । महाधिवेशनको सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान कांग्रेसका कार्यकर्ताले पार्टीको सिद्धान्त के हो, यी सिद्धान्तलाई लागू गर्न कस्तो नेतृत्व चाहिन्छ, विगतका नेतृत्वमा के कस्ता कमजोरी र सबल पक्ष रहे भन्नेमा विवेचना गर्नु आवश्यक रहेको नेता पौडेलको जोड थियो ।

उनले भने, ‘आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो । व्यक्ति व्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थामा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कारले मात्र लोकतन्त्र मौलाउँछ । लोकतन्त्रको जग मजबुत हुन्छ । आवधिक निर्वाचनका साथ साथै संस्था पारदर्शी, जिम्मेवार र जवाफदेही भएमात्र लोकतन्त्र मजबुत हुनसक्छ । यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीको हो । त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन ।’

कांग्रेस र नेपाली समाजको लोकतान्त्रिकरण गर्दै नेपाली संस्कृति, संस्कार र नेपाल राज्यको भविष्यको पुनःसंरचनाका लागि नेता पौडेलले  दस सुत्र अघि बढाएका छन् । वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा लैजानुपर्ने, कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पार्नुपर्ने, विकृति, विसङ्गती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गर्नुपर्ने नेता पौडेलको भनाइ छ ।

यसैगरी राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरुपले पछि पारिएका महिला, दलित, जनजाति, मधेसी तथा विपन्न जनता केन्द्रित नीति, कार्यक्रम अघि बढाउनुपर्ने, निमुखालाई न्याय, विपन्नलाई आय मूल ध्येय बनाउनुपर्ने, विधिको शासन, समयवद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा बनाउनुपर्ने उनको सुत्र छ ।

सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गर्नुपर्ने, नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असङ्लग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाउनुपर्ने, कम्युनिष्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउनुपर्ने नेता पौडेलले बताए । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ४३ बजे