Logo

समाचार

एमाले महाधिवेशन: सर्वसम्मतिमा नेतृत्व चयन पेचिलो बन्दै



काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशन अन्तर्गत सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्ने विषय थप पेचिलो बन्दै गएको छ ।

सर्वसम्मतिका आधारमा नेतृत्व चयन हुने दाबी गर्दै आएपनि सहमति जुट्न नसक्दा थप पेचिलो बन्दै गएको हो । सहमतिका लागि भन्दै नेताहरु छलफलमा जुटिरहेका छन् ।

पदाधिकारी र केन्द्रीय सदस्य नियुक्त गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको भएपनि आकांक्षी धेरै भएपछि अध्यक्ष ओलीलाई मिलाउन धौ-धौ परेको हो ।

अध्यक्ष पदमा आफूले पनि उम्मेदवारी दिने बताउँदै भीम रावल अगाडि बढिरहँदा ओलीको सर्वसम्मत रुपमा फेरि आफू अध्यक्ष बन्ने सपना टुटेको छ ।

अझै पनि ओलीले रावललाई फकाउने प्रयास भने जारी नै राखेका छन् । तर, अहिलेसम्म रावल उम्मेदवारी दिनबाट पछाडि हट्ने स्थिती देखिएको छैन ।

यता, आफ्नै पक्षका नेताहरु बरिष्ठ उपाध्यक्षका लागि महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले लबिङ गरिरहेका छन्।

यता, ओली पोखरेललाई बरिष्ठ उपाध्यक्ष बनाउन चाहन्छन्। तर, नेम्वाङले ओलीको कुरा मानिरहेका छैनन्। जसले गर्दा ओलीलाई पदाधिकारी नियुक्त गर्न सकस परिरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ५० बजे